काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारले पाए सफाइ
थानकोट ।
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको भनी अख्तियारले दायर गरेको मुद्दामा सहसचिव प्रदीप परियारले सफाइ पाएका छन् ।
न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले संक्षिप्त फैसला गर्दै परियारमाथिको भ्रष्टाचार हानिनोक्सानी मुद्दामा सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
परियारसँगै बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहालमाथि मुद्दा दायर भएको थियो । विशेष अदालतले सातै जनामाथिको आरोपदाबी पुष्टि हुन नसकेको हुँदा सफाइ पाउने ठहर गरेको छ ।
















