मन्त्रिपरिषद्का ३५ निर्णय सार्वजनिक
थानकोट ।
सञ्चार मन्त्री जगदीश खरेलले पुस ११ र २१ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् ।
सार्वजनिक निर्णयअनुसार सार्वजनिक निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्नेसम्बन्धी सुझाव कार्यदलबाट पेश भएको प्रतिवेदन कार्यान्वयन गरिएको छ ।
राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगाएतका निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधानमा एकरुपता कायम गर्नेसम्बन्धी सुझाव कार्यदलबाट पेश भएको प्रतिवेदन कार्यान्वयनका लागि अर्थ मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने निर्णय भएको खरेलले जानकारी गराए ।
बैठकले पुष २९ र ३० गते बङ्ग्लादेशको ढाकामा आयोजना हुने नेपाल बङ्ग्लादेश वाणिज्य सचिव स्तरको आठौं बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ । प्रहरीको सङ्गठन, संरचना तथा दरबन्दी त्यारी स्वीकृत गर्ने निर्णय भएको छ ।
माघ ३ गते अमेरिकामा आयोजना हुने रोल अफ एनआरएनए युथ इन डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजिओ रिभोलुसन सम्बन्धी कार्यक्रममा सहभागी हुन युवा तथा खेलकुद मन्त्रीलाई स्वीकृति दिइएको छ ।
















