टी-२० महिला विश्वकप क्रिकेट छनोटः अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग पराजित
थानकोट ।
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघि भएकाे अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको छ ।
शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८४ रनको पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १ सय ५६ रन बनायो ।
नेपालका लागि सम्झना खड्काले अविजित ४३ बलमा अविजित ५२ रन बनाइन् । यसैगरी कविता कुँवरले अविजित २९, कप्तान इन्दु बर्माले २८ तथा कविता जोशीले २२ रन जोडे । स्कटल्यान्डका लागि डार्शी कार्टरले तीन तथा क्याथरिन ब्रिस, ओलिभिया बेल र चोल अबेलले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल तयार पारेको थियो । स्कटल्यान्डका लागि क्याथरिन ब्रिस २८ बलमा अविजित ६२ रन बनाएर रिटायर्ड हर्ट भएकी थिइन् । यसैगरी प्रियानाज चटर्जीले अविजित ४० रन बनाइन् ।
नेपालका लागि रुबिना क्षेत्री र कविता कुँवरले दुई–दुई तथा रिया शर्मा र रचना चौधरीले एक–एक विकेट लिए । छनोटमा पनि नेपाल र स्कटल्यान्ड एकै समूहमा छन् ।















