चन्द्रागिरिबासीले मुख मिठ्याउँदै खाने गरेको दालमोठ गुणस्तरहीन भएको पुष्टि, २६ सय प्याकेट नष्ट गरियो
थानकोट ।
बलम्बुस्थित एक उद्योगले उत्पादन गरेको ठूलो परिमाणको दालमोठ गुणस्तरहीन फेला परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नष्ट गरेको छ ।
चन्द्रागिरि नगरपालिका-१२ बलम्बुमा रहेको सो उद्योगबाट उत्पादित मिक्स दालमोठ गुणस्तरहीन पाइएपछि विभागले ५ लाख १९ हजार ६ सय रुपैयाँ बराबरको उत्पादन नष्ट गरेको हो ।
विभागका अनुसार उक्त उद्योगमा ५ मंसिरमा गरिएको अनुगमन क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहीन पाइएको थियो ।
प्रयोगशालाको प्रतिवेदनपछि विभागले उक्त उद्योगको उत्पादन र बिक्री-वितरणमा तत्कालै रोक लगाएको थियो ।
विभागले ११ पुसमा आदेश जारी गर्दै मंसिरमा उत्पादित ब्याच नम्बर ०३ का ६ सय ग्रामका सबै मिक्स दालमोठ बजारबाट फिर्ता (रिकल) गर्न भनेको थियो ।
सोही क्रममा उद्योगमा मौज्दात १ सय २ बोरा र बजारबाट फिर्ता आएको १ बोरा २३ प्याकेट गरी जम्मा १ सय ३ बोरा र २३ प्याकेट (कुल २ हजार ५ सय ९८ प्याकेट) दालमोठ नष्ट गरिएको हो ।
स्थानीय जनप्रतिनिधिको रोहबरमा १८ पुसमा उक्त सामग्री नष्ट गरिएको विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिइन् ।
















