सिविनले बालबालिकाको साइबर सुरक्षाका विषयमा थुप्रै काम गरेको उपमेयर श्रेष्ठको भनाइ

Thankot Times

थानकोट ।

सिविन नेपालद्वारा बालबालिकाको साइबर सुरक्षाका क्षेत्रमा गरेका तीन वर्षे उपलब्धि सार्वजनिक गरिएको छ । काठमाडाैंमा आयोजित एक समारोहकाबीच उपलब्धि सार्वजनिक गरिएको हो ।

त्यस अवसरमा डिजिटल युगमा बालबालिकाको साइबर सुरक्षा विषयक अन्तरक्रियासमेत आयोजना गरियो । टिडिएच नेदरल्याण्ड्ससँगको सहकार्यमा सुफासेक प्रोजेक्टअन्तर्गत सिविनले तीन वर्षदेखि नेपालमा इन्टरनेट अनलाइनबाट बालबालिकामाथि कसरी हिंसा भइरहेको छ र उनीहरूको सुरक्षा कसरी अपनाउने भन्ने विषयमा विभिन्न कार्यक्रम गर्दै आएको थियो ।

सुफासेक प्रोजेक्टअन्तर्गतको बालबालिकाको साइबर सुरक्षाका क्षेत्रमा गरेका कार्यक्रमको अनुगमन, मूल्यांकन र समापन समारोहको आयोजना गर्दै बिहीबार सिविनले तीन वर्षीय कार्य प्रगतिबारे प्रकाश पारेको हो । सिविनले माइती नेपाल, नेपाल प्रहरीको साइबर ब्युरो, नेपाल सरकार महिला तथा बालबालिका मन्त्रालयको महिला तथा बालअधिकार ब्युरो, उइसर, शक्ति समूहलगायतको सहयोगमा सोफासेक परियोजनाअन्तर्गत बालबालिकामाथि हुने यौन हिंसाका बारेमा विभिन्न कार्यक्रम गरेको सिविनका कार्यक्रम व्यवस्थापक माधव लोहनीले जानकारी दिए ।

उनले काठमाडौं, हेटौँडालगायत विभिन्न स्थानमा बालबालिकाको साइबर सुरक्षाका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए । ‘बालबालिका इन्टरनेटको पहुँचमा हुनु हुँदैन भन्ने होइन । तर, उनीहरूको साइबर सुरक्षाका विषयमा अभिभावकहरू गम्भीर हुनुपर्छ । सरकारले पाठ्यक्रममै यो विषय समावेश गरेर बालबालिकाहरूलाई जागरुक गराउनुपर्छ । त्यसका लागि हामीले सरकारी निकायसँग समन्वय गर्दै सुझावसमेत प्रस्तुत गरेका छौँ,’ उनले भने ।

यस्तै कार्यक्रममा इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुवास खड्काले तीन वर्षमा समाजमा साइबर सुरक्षा र यसको सुरक्षित प्रयोगका बारेमा विभिन्न कार्यक्रम गरेकोमा सिविनप्रति आभार व्यक्त गरे । ‘हामीले बालबालिकालाई केन्द्रमा राखेर सिविनसँगको सहकार्यमा साइबर सुरक्षाका विषयमा विभिन्न कार्यक्रम गरेका छौँ । त्यसबाट हामीले समस्याको पहिचान गर्नुका साथै आगामी दिनमा थप सुरक्षा रणनीति कसरी अपनाउन सकिन्छ भन्ने विषयको सिकाइ भएको छ,’ उनले भने ।

यस्तै चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठले सिविनले बालबालिकाको साइबर सुरक्षाका विषयमा थुप्रै काम गरेको बताइन् । उनले चन्द्रागिरि बालश्रम मुक्त नगरपालिका घोषणा गरिएको र त्यसका लगि सिविनको ठूलो साथ रहेको बताइन् ।

सिविन नेपालका नेपाल तथा भारत डाइरेक्टर डा. थङ्‍गमले बालबालिकाको क्षेत्रमा सिविनले गरेको कामको प्रशंसा गरेका थिए । ‘नेपाल र भारतमा इन्टरनेटका माध्यमबाट बालबालिका माथि हुने हिंसाको प्रकृति उस्तै छ । सिविनले विभिन्न संघ संस्थासँग मिलेर थुप्रै राम्रा काम गरेको छ । यसको प्रभावकारिता पनि राम्रो रहेको हामीले पाएका छौँ । त्यसले मलाई खुसी तुल्याएको छ,’ उनले भने ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि न्यायाधीश ठाकुर बस्ताकोटीले सिविनले बालबालिकाको साइबर सुरक्षाका क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै सरकार पनि यो विषयमा गम्भीर हुनुपर्ने धारणा राखेका थिए । ‘हामी सबैले आफ्नो तर्फबाट बालबालिकालाई साइबर क्षेत्रको सिकार हुनबाट जोगाउनुपर्छ । यो नेपालको मात्र समस्या नभएर विश्वव्यापी समस्या हो । त्यसैले साइबर अपराध रोक्न विश्व नै एक ठाउँमा आउनुपर्छ । बालबालिका साना वर्ग हुन् । उनीहरू के सही के गलत छुट्याउन सक्दैनन् । त्यसैले उनीहरूको सुरक्षा गर्नु हामी सबैको दायित्व हो,’ उनले भने ।

कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थी, राष्ट्रिय बाल अधिकार परिषद्का रामबहादुर चन्दलगायतले आफ्नो धारणा राखेका थिए । सिविनका अध्यक्ष माधव प्रधानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *