चन्द्रागिरि डाँडामा पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती मनाइयो (भिडियोसहित)
थानकोट ।
नेपालको एकीकरणका प्रणेता शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले नेपालको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै शाहको तत्कालीन राज्य गोरखा, सिंहदरबारको मूलढोका तथा देशका विभिन्न स्थानमा राखिएका शाहका सालिकमा माल्यार्पण गरी उनको योगदानको स्मरण गरिएको छ ।
आज काठमाडौंको चन्द्रागिरि डाँडामा पनि पृथ्वीनारायण शाहको स्मरण गरिएको छ ।
चन्द्रागिरि डाँडा पृथ्वीनारायण शाहको नेपाल एकीकरणको इतिहाससँग जोडिएको ऐतिहासिकस्थल भएकाले यहाँ पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गरिएको छ । त्यससमय भन्ने गरिएको नेपाल खाल्डो (काठमाडौं उपत्यका) माथि विजय हासिल गर्ने प्रण पृथ्वीनारायण शाहले यही डाँडाबाट गरेको इतिहास रहेकाले चन्द्रागिरि हिल्स लिमिटेडले विसं २०७४ मा यहाँ निर्माण गरेको पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकको तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी थिइन् ।
नेपाल एकीकरण गर्ने ३ नायकका शालिक चन्द्रागिरिमा, शालिकका बारेमा स्थानीय नै ‘बेखबर’
सो ऐतिहासिकस्थलमा निर्मित सालिकमा आज पृथ्वीनारायण शाहको स्मरणमा ख्यातिप्राप्त साहित्यकार, कवि लगायतले कविता वाचन गरेका छन् । सर्जकहरूले पृथ्वीनाराण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानको इतिहाससँगै जोडिएर आउने चन्द्रागिरि डाँडास्थित पृथ्वीनारायणको सालिकसामु उनको योगदान तथा नेपालको राष्ट्रियतासम्बन्धी सृजना तथा रचनाहरू प्रस्तुत गरेर श्रद्धाभाव प्रकट गरेका हुन् ।
बदलिँदो परिवेशमा राष्ट्रिय एकताको खाँचो विषय सो कविता वाचनमा इतिहासकार तथा संस्कृतिविद् दिनेशराज पन्तले पृथ्वीनारायण शाहको एकीकरण अभियान र चन्द्रागिरिसँगको साइनो केलाएका थिए भने कवि तथा गीतकार दिनेश अधिकारी, पूर्वमन्त्री तथा साहित्यकार एसपी कोइराला, वरिष्ठ कवि डा. राजुबाबु श्रेष्ठ, कवि हेम प्रभास, नारायण निरासी, एलिसा ढुंगाना, प्रधुम्न जोशी, कृष्ण बन्जाडे, प्रभाती किरण, मणी लोहनी, दिनेश परियार लगायतका कवि कवयत्रीहरूले राष्ट्रनिर्माताप्रति समर्पित काव्य रचना वाचन गरेका थिए।
पृथ्वी जयन्तीका अवसरमा यहाँ सालिन्दा साहित्यकारहरूको जमघट हुने गरेको छ ।
















