कमला कार्की स्मृति दिवसः नैकापस्थित सिर्जनशिल अपाङ्गता विद्यालय १ लाख रुपैयाँसहित सम्मानित

Thankot Times

थानकोट ।

फरक शारीरिक क्षमता भएका बालबालिकाहरू आश्रित रहेको संस्था चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापस्थित सिर्जनशिल अपाङ्ग पुनर्स्थापना तथा विशेष शिक्षा विद्यालय कमला कार्की स्मृति दिवसका अवसरमा शनिबार (पाैष २७) सम्मानित भएको छ ।

चन्द्रागिरि नगरपालिका तीनथानास्थित कमला कार्की स्मृति प्रतिष्ठानले दशाैं स्मृति दिवसका अवसरमा सो विद्यालयलाई नगद १ लाख १ रुपैयाँ तथा प्रमाण पत्रसहित सम्मान गरेको हो । 

नैकापस्थित ब्राइट फ्यूचर माविमा आयोजित एक समारोहका बीच नेपाल पत्रकार महासंघ संघीय अध्यक्ष निर्मला शर्मा र प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीले संस्थालाई संयुक्त रुपमा सम्मान गरेका हुन् । बाैद्धिक अपाङ्गता र शारिरीक अपाङ्गता भएका विभिन्न उमेर समुहका करिब २२ जना बालबालिकाहरू उक्त संस्थामा आश्रय लिइरहेका छन् ।

प्रतिष्ठानले दशाैं स्मृति दिवसका अवसरमा शनिबार नै विभिन्न व्यक्तित्व तथा संस्थाको सम्मान गरेको छ ।

प्रतिष्ठानले यस वर्ष चन्द्रागिरि नगरमा रही सामाजिक कार्यमा सक्रिय रहेको मूल्याकंन गर्दै चन्द्रागिरि नगरपालिका वडा नं. २ निवासी संजु बस्नेतलाई सम्मान गरेको छ । 

यस्तै, पत्रकार महिलातर्फ विष्णु पन्थी सम्मानित भएकी छन् ।

खेलकुदतर्फ राष्ट्रिय, अर्न्तराष्ट्रिय पदक विजेता सतुङ्गल निवासी कराते खेलाडी सानुमाया थिङ सम्मानित भएको प्रतिष्ठानद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिष्ठानले चन्द्रागिरि वडा नं. १४ मा बसोबास गर्ने सबैभन्दा ज्येष्ठ महिला नानी कार्की र चन्द्रागिरि वडा नं. १५ मा बसोबास गर्ने सबैभन्दा ज्येष्ठ महिला जेष्ठ महिला सानुमैंया कार्की लाई सम्मानित गरेको छ ।

सम्मानित हुने सबैले जनही १५ हजार १ रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गरे । 

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य केशव पोखरेल, नेता कृष्णगोपाल श्रेष्ठ, समाजसेवी देवेन्द्र प्रधान, ब्राइट फ्युचर माविका प्रधानाध्यापक दयाराम थापा, चन्द्रागिरि नगरपालिका वडा नं. १४ का वडाध्यक्ष राजभाइ महर्जन लगायतको उपस्थिति रहेको थियो ।

चन्द्रागिरि नगरमा स्थायी बसोबास गर्ने ख्यातिप्राप्त पत्रकार महिला, खेलाडी महिला र सामाजिक क्षेत्रमा क्रियाशील महिला, चन्द्रागिरि वडा नं. १४ र १५ मा बसोबास गर्ने ज्येष्ठ उमेरकी एक-एक जना महिला र महिलासँग सम्बन्धित संस्थालाई कमला कार्की स्मृति प्रतिष्ठानले वर्षेनी सम्मान गर्दै आएको संस्थाले जनाएको छ ।

ब्राइट फ्यूचर माविका संस्थापक अध्यक्ष मोहनकुमार कार्कीले दिवंगत आमाको नाममा प्रतिष्ठान खडा गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *