माघ १ गतेदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने
थानकोट ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ ।
त्रिविले आगामी माघ १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बीमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो ।
विसं २०७७ देखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रममार्फत गरिने उपचार सेवा माघ १ गतेदेखि लागू हुनेगरी बन्द गरिएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए । उनले स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममार्फत बिरामीको उपचार गरेबापतको भुक्तानी उपलब्ध नगराएपछि सेवा सञ्चालन गर्न नसकिएको बताए ।
आन्तरिक स्रोतबाट अस्पतालले सबै किसिमका दैनिक खर्च व्यहोर्नुपर्ने हुँदा मासिक रु दुई करोड नोक्सान हुने भएपछि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नसकिएको सूचना अधिकारी रोस्याराको भनाइ छ ।
“स्वास्थ्य बीमाबाट उपचारमा आउने बिरामी सङ्ख्या तथा चाप दिनहुँ वृद्धि हुँदै गएको छ । यसबाट मासिक रु पाँच करोड हाराहारीको खर्च हुनेमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृति गरी बाँकी अस्वीकृत गर्दै आएको छ । हालसम्म अस्पतालको बीमा दाबी रकम करिब रु ४० करोड भुक्तानी बाँकी छ” अस्पताल प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
अस्पतालमा आउने बिरामीको उपचार क्रममा बीमा बोर्डको र अस्पतालको दररेट शुल्क फरक भएको बताउँदै सूचना अधिकारी रोस्याराले अस्पताल प्रशासनले बारम्बार ‘अस्पतालको रकमलाई अन्तिम मानिदिनु’ भनी दुई वर्षदेखि गरेको आग्रहको कुनै सुनवाइ नभएको उल्लेख गरे ।

















