सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै, आज चन्द्रागिरि आउँदै आयोग

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । 

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुँदै छ। त्यस पूर्व सम्बन्धित निर्वाचन क्षेत्रहरूका लागि निर्वाचन कार्यालय खोलेर कर्मचारी खटाउने तयारीमा आयोग जुटेको हो। आयोगका सहायक प्रवक्ता सीता श्रीस पुनले आजदेखि १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउने बताइन् । 

आयोगले प्रत्येक जिल्लामा खटिने ७७ जना मुख्य निर्वाचन अधिकृत तथा ८८ जना निर्वाचन अधिकृतहरू तोकिसकेको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई एउटा–एउटा निर्वाचन क्षेत्रको जिम्मेवारी रहनेछ।

जिल्ला न्यायाधीशहरूबाट मुख्य निर्वाचन अधिकृत तोकिएका छन्। त्यस्तै, न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरूलाई निर्वाचन अधिकृत बनाइएको छ। न्याय परिषद्सँगको परामर्शमा आयोगले मुख्य र बाँकी निर्वाचन अधिकृतहरूको नाम तोकेको हो।

आयोगले आज चन्द्रागिरि नगरपालिका कार्यालयमा काठमाडाैं क्षेत्र नं. ९ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ । बिहान ११ बजे सो कार्यालय स्थापना हुने चन्द्रागिरि नगरका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए । 

काठमाडौ महानगरपालिकाको वडा नम्बर १२,१४,२१ र २२ चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १,१२,१३,१४ र १५ र नागार्जुन नगरपालिकाको वडा नम्बर ६,७,८,९ र १० यस क्षेत्रमा पर्दछ ।

यस निर्वाचन क्षेत्रमा ३४ वटा मतदानस्थल रहनेछन भने ९० मतदान केन्द्र रहनेछ ।

काठमाडौं क्षेत्र नम्बर ९ को निर्वाचन अधिकृतको जिम्मेवारी प्रधानमन्त्री कार्यालयमा कार्यरत उपसचिव मनुका घिमिरेलाई दिइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *