महिला टी-२० विश्वकप छनोट: थाइल्यान्डविरुद्ध नेपालको लज्जास्पद हार, नेपाल १२२ रनमा अलआउट

Thankot Times

थानकोट ।

नेपालमा आइबार (माघ ४)देखि सुरु भएको महिला आईसीसी टी–२० विश्वकप छनोटमा घरेलु टिमले थाइल्यान्डसँग आठ विकेटको फराकिलो हार व्यहोरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

थाइल्यान्डको जितमा नथाकन चिन्थामले सर्वाधिक ५७ रन बनाइन् । उनले ३९ बलमा नौ चौका र एक छक्का प्रहार गरिन् ।

उनले पहिलो विकेटका निम्ति अफिसारा सुवान्चोनराथीसँग ९.१ ओभरमा ६६ रनको साझेदारी गर्दै थाइल्यान्डलाई बलियो सुरुआत दिलाएकी थिइन् ।

सुवान्चोनराथीले ३२ बलमा दुई चौकासहित २८ रन थपिन् । नान्नापाट कोन्चारिन्काईले ३२ रन जोडिन् ।

निराशजनक बलिङ गरेको नेपालबाट सीता रानामगरले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रनको योगफल खडा गरेको थियो ।

नेपालकी ओपनर विन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । सोनु खड्काले ११ बलमा ६ चौकासहित २६ रन थपिन् । यी दुईले पहिलो विकेटका निम्ति ५.४ ओभरमा ५२ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुआत दिलाएका थिए ।

तर, यसपछिका ब्याटर जम्न नसक्दा नेपाल बलियो योगफलसम्म पुग्न सकेन ।

थाइल्यान्डकी थिपात्चा पुथ्थावोङले चार विकेट लिइन् । ओनिचा काम्चोम्फुले दुई विकेट लिँदा चनिन्दा सुत्थुरुआङ, सुलिपोर्न लाओमी र सुनिन्दा चटुरोन्ग्राटानाले समान एक विकेट लिए ।

नेपालले अब जनवरी २२ मा नेदरल्यान्ड्सविरुद्ध खेल्ने तालिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *