साफ पुरुष फुटसल च्याम्पियनसिप: नेपाल र भारतबीचको खेल ३-३ गोलको बराबरीमा सकियो

Thankot Times

थानकोट ।

नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष फुटसल च्याम्पियनसिपमा भारतसँग ३–३ को बराबरी खेलेको छ ।

आइतबार थाइल्यान्डको बैंककस्थित नन्थाबुरी रंगशालामा नेपालका लागि विक्रान्त नरसिंह राणा, अमित लामा र कप्तान विजय श्रेष्ठले १–१ गोल गरे । भारतका लागि लाल्टलुआङजेला, अनमोल अधिकारी र निखिल राजेन्द्र मालीले १–१ गोल गरे ।

खेलको पाँचौँ मिनेटमा विक्रान्तको गोलमार्फत नेपालले अग्रता लिएको थियो । एक मिनेटपछि नै लाल्टलुआङजेलाले भारतलाई बराबरीमा ल्याए ।

अमितले २५औँ मिनेटमा गोल गर्दा नेपाल २–१ ले अगाडि बढ्यो । ३९औँ मिनेटमा अनमोलले गाेल गर्दा खेल २–२ को बराबरीमा आयो ।

विजयले ४०औँ मिनेटमा गोल गर्दै नेपाललाई ३–२ ले अगाडि बढाए । निखिलले खेल सकिन केही सेकेन्ड बाँकी रहँदा गोल गर्दै भारतलाई हारबाट जोगाए ।

यो नतिजासँगै नेपालले दुई खेलमा चार अंक जोडेको छ । यसअअघि नेपालले श्रीलंकालाई २–१ ले पराजित गरेको थियो । यता, भारतको समान खेलबाट दुई अंक छ । भारतले यसअघि बंगलादेशसँग ४–४ को बराबरी खेलेको थियो ।

अब नेपालले मंगलबार पाकिस्तानको सामना गर्नेछ ।

भारतले सोही दिन माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *