प्रतिनिधि सभा सदस्य निर्वाचनः काठमाडाैं १० मा नेकपाबाट हितमान शाक्यले पाए टिकट
थानकोट ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौं क्षेत्र नम्बर १० मा हितमान शाक्यलाई उम्मेदवार बनाएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शाक्यलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको टिकट प्रदान गर्दै जितको शुभकामना व्यक्त गरे ।
शाक्य असाध्य परिपक्व संगठन र राजनीतिको नेता रहेको प्रचण्डको बुझाइ छ ।
‘शाक्य असाध्य परिपक्व संगठन र राजनीतिको नेता हो । उहाँले काठमाडौंमा एकचोटी चुनाव जित्नु पनि भएको छ । यो पटक क्षेत्र नम्बर १० मा हितमानजीलाई पक्कै पनि क्षेत्रका जनताले विजयी गराउँछन् भन्ने मलाई विश्वास छ,’– प्रचण्डले भने ।
शाक्यले २०७४ सालको संसदीय निर्वाचनमा समेत निर्वाचन क्षेत्र नं १० बाट उम्मेदवारी दिएका थिए ।
यस निर्वाचन क्षेत्रमा ८३ हजार ३ सय एक जना मतदाता रहेका छन् । यस क्षेत्रअन्तर्गत चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ गरि दश वटा वडा, कीर्तिपुर नगरपालिकाको १० वटै वडा र दक्षिणकाली नगरपालिकाको ९ वटै वडा गरि २९ वटा वडा पर्दछन् ।
४७ मतदान स्थल रहेको काठमाडौं क्षेत्र नम्बर १० मा ९८ वटा मतदान केन्द्र रहनेछन् । २०७९ को चुनावमा नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी पहिलो हुँदा नेकपा एमालेका हिमेश केसी दोश्रो, रास्वपाका प्रदिप विष्ट तेस्रो बनेका थिए ।















