काठमाडौंका १० क्षेत्रमा कांग्रेसले उठायो ९ नयाँ अनुहार
थानकोट ।
नेपाली कांग्रेसले काठमाडौंका १० क्षेत्रमध्ये नाैवटामा नयाँ अनुहार उठाएको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि कांग्रेसले काठमाडौं ५ प्रदीप पौडेलबाहेक सबै नयाँ अनुहारका नेतालाई उम्मेदवार बनाएको हो ।
काठमाडौं १ बाट कांग्रेसले चारपटक चुनाव जितेका प्रकाशमान सिंहलाई टिकटबाट वञ्चित गरेको छ । यो क्षेत्रबाट प्रबल थापाले टिकट पाएका छन् । अन्तिमसम्मै सिंहले टिकट लिने प्रयास गरेका थिए । तर उनले टिकट पाएनन् ।
२ बाट कविर शर्मा उम्मेदवार बनेका छन् । ३ बाट रमेश अर्याल र ४ बाट सचिन तिमल्सिनाले टिकट पाएका छन् । शर्मा विद्यार्थी राजनीतिमा हुँदा क्षेत्रीय सभापति बनेका युवा नेता हुन् । ३ मा अर्याल वडाध्यक्ष हुँदै चुनाव लड्न आएका नेता हुन् ।
४ का तिमल्सिना क्रिकेट कमेन्टेटर हुन् । उनी केन्द्रीय युथ कांग्रेसका संस्थापक सभापतिसमेत हुन् । कांग्रेस सभापति गगन थापा सर्लाही ४ मा गएपछि तिमल्सिना यो क्षेत्रबाट उम्मेदवार बनेका हुन् । यसअघि जितेका प्रदीप पौडेल फेरि सोही क्षेत्रबाट उम्मेदवार बनेका हुन् । १० मध्ये पौडेलमात्रै यस अघि निर्वाचन लडेका नेता हुन् । पौडेल विशेष महाधिवेशनबाट महामन्त्री जितेका नेता हुन् ।
काठमाडौं ६ बाट काठमाडौं कांग्रेसका सभापति सबुज बानिँयाले टिकट पाएका छन् । ७ मा कांग्रेसले प्रमोदहरि गुरागाईंलाई टिकट दिएको छ । उनी सह–प्राध्यापकबाट राजीनामा दिएर चुनाव लड्न आएका हुन् ।
कांग्रेसले ८ बाट नवीन्द्रराज जोशीकी पत्नी सपना राजभण्डारीलाई टिकट दिएको छ । ९ बाट केन्द्रीय सदस्य नानु बाँस्तोलाले टिकट पाएकी छिन् । उनी १४ र विशेष महाधिवशेनबाट केन्द्रीय सदस्य भएकी हुन् । यसअघि जितेका राजेन्द्र केसीले उम्मेदवारी नदिएको काठमाडौं १० मा कांग्रेसले युवा नेता हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ ।
कांग्रेसबाट २०७९ मा १ बाट प्रकाशमान सिंह, ३ बाट सन्तोष चालिसे, ४ बाट गगन थापा, ५ बाट प्रदीप पौडेल र १० बाट राजेन्द्र केसी विजयी भएका थिए । अघिल्लोपटक पाँच सिट जितेको कांग्रेसले यसपटक ९ जना नयाँ अनुहार अगाडि सारेको हो ।
















