टी-२० महिला विश्वकप ग्लोबल क्वालिफायर : आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने तालिका

Thankot Times

थानकोट ।

नेपालले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरको आफ्नो दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्सको सामना गर्दै छ ।

समूह ‘बी’ अन्तर्गतको खेल बिहीबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ ।

नेपाल इन्दु बर्माको कप्तानीमा मैदान उत्रिनेछ । नेपाललाई सीता रानामगर, विन्दु रावल, सम्झना खड्का जस्ता खेलाडीको साथ रहनेछ । नेपाल पहिलो जितको लक्ष्यमा हुनेछ । आइतबार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । थाइल्यान्डविरुद्ध विन्दुले ४४ रन बनाउँदा सीताले २ विकेट लिएकी थिइन् ।

नेपालकी कप्तान इन्दु टोलीले पुनरागमन गर्ने विश्वास व्यक्त गर्छिन् । ‘विगतका दिनमा भन्दा अहिले प्रदर्शन केही सुधारिएको छ । आगामी खेलमा उत्कृष्ट पुनरागमन गर्छौं भन्ने विश्वास छ । अझै राम्रो गर्ने प्रयासमा छौँ । अझै खेल बाँकी छन् । त्यसैले आसा छ अर्को खेलमा उत्कृष्ट प्रदर्शन हुनेछ,’ इन्दुले थाइल्यान्डविरुद्धको खेलपछि भनेकी थिइन् ।

यता पहिलो पटक विश्वकपमा स्थान बनाउने लक्ष्यमा रहेको नेदरल्यान्ड्सका लागि बाबेट डे लिडेले कप्तानी जिम्मेवारी सम्हालिरहेकी छन् । टोलीले फेबे मोल्केनबोयर, स्टेरे कालिस, फ्रेडरिक ओभरडिजकजस्ता खेलाडीलाई मैदान उतार्नेछ ।

नेपालविरुद्ध मैदान उत्रिँदा अघिल्ला दुवै खेल आफ्नो पक्षमा पारेको नेदरल्यान्ड्स उच्च मनोबलमा हुनेछ । यसअघि नेदरल्यान्ड्सले जिम्बाब्वेलाई २२ तथा स्कटल्यान्डलाई ७ रनले पराजित गरेको थियो ।

नेपालले हालसम्म नेदरल्यान्ड्सलाई हराउन सकेको छैन । यी दुई टोलीबीच तीन हुँदा,सबै खेल नेदरल्यान्ड्सले आफ्नो पक्षमा पारेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *