२६औं बुढासुब्बा गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक, पहिलो खेल माघ २३ मा
थानकोट ।
२६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । धरानमा २२ माघदेखि सुरु हुने गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका बुधबार सार्वजनिक गरिएको हो ।
प्रतियोगितामा स्वदेशी र विदेशी गरी १० टोलीको सहभागिता रहने आयोजक धरान फुटबल क्लबले जनाएको छ ।
प्रतियोगितामा आयोजक धरान फुटबल क्लबसँगै साविक विजेता न्यू–रोड टिम, झापा–११, काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड, विभागीय टोली नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड, ललितपुरको सातदोबाटो युथ क्लब र पोखराको लालीगुराँस फुटबल क्लबको सहभागिता रहनेछ ।

यस्तै, भारतको जर्जियन फुटबल क्लब, भुटानको रोयल थिम्पु फुटबल क्लब पनि सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सबै खेल धरान–१६ स्थित धरान स्टेडियममा हुनेछन् । बुधबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले भारतको जर्जियन फुटबल क्लबको सामना गर्नेछ ।
माघ २३ गते झापा–११ ले भुटानको रोयल थिम्पु फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता माघ २२ देखि फागुन २ गतेसम्म चल्नेछ ।















