काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलद्वारा राजीनामा
थानकोट ।
नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार आफ्नो जिम्मेवारीबाट अलग भएका छन्।
निर्वाचन क्षेत्रमा सक्रिय भएर काम गर्नुपर्ने भएकाले उनले पदबाट राजीनामा दिएको जनाइएको छ।
पौडेल पुस २७ देखि ३० गतेसम्म सम्पन्न काँग्रेसको विशेष महाधिवेशनप्रति असहमत रहँदै आएका थिए। सो महाधिवेशनको विपक्षमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष तथा डा. शेखर कोइराला समूह पनि रहेको उल्लेख छ। यद्यपि, तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा सम्पन्न विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधानिकता दिएको थियो।
विशेष महाधिवेशनलाई मान्यता दिएको निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत पुगेको भए पनि अन्तरिम आदेश प्राप्त हुन सकेन। सोही पृष्ठभूमिमा विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापाको नेतृत्वमा रहेको समूह शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पुग्ने तयारीमा रहेको छ। उक्त कार्यक्रमको अघिल्लो दिन मुख्यसचिव पौडेलले पद छोडेका हुन्।
१३ औँ महाधिवेशनपछि शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुँदा पौडेललाई मुख्यसचिवको जिम्मेवारी दिइएको थियो। उनी हाल राष्ट्रिय सभाका सांसदसमेत हुन्।














