सरस्वती पूजाको अवसरमा चन्द्रागिरिका सरस्वतीथानमा अक्षरारम्भ (तस्बिरहरू)

Thankot Times

थानकोट ।

आज माघ शुक्लपञ्चमी अर्थात श्रीपञ्चमी । हिन्दु धर्मावलम्बीहरूले, यस दिन विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइरहेका छन् ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।

सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको सरस्वती कवचुको मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणवाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले आजकै दिन सिद्धि प्राप्त गरेको भन्ने कथन पनि छ ।

सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसको कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । सोही विश्वासका साथ आज बिहानैदेखि थानकोटस्थित सरस्वतीथान, विष्णुदेवीस्थित सरस्वती मन्दिर, स्वयम्भू लगायत देशभरका सरस्वती मन्दिरहरुमा श्रद्धालुहरूको घुइँचो लागेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *