रुख चिन्हमा भोट माग्दै कार्कीले भने- डर होइन विवेक, दबाब होइन निर्णय, र स्वार्थ होइन सेवा
थानकोट ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडाैं क्षेत्र नं. १० बाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका उम्मेदवार हिमाल कार्कीले चुनावलाई डर होइन विवेक, दबाब होइन निर्णय, र स्वार्थ होइन सेवाका रुपमा लिन अनुरोध गरेका छन् ।
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै कार्कीले भनेका छन्-
लोकतान्त्रिक अभ्यासको एक महत्वपूर्ण चरणका रूपमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं. १० बाट संघीय सांसदका लागि हिजो निर्वाचन आयोगको कार्यालय, देबढोकामा उम्मेदवारी दर्ता गरेको जानकारी गराउन चाहन्छु।
मेरो राजनीतिक यात्राको मूल ध्येय सधैं राजनीतिमा सही मूल्य, मान्यता र संस्कार स्थापित गर्नु रहेको छ। विशेष गरि युवामा निराशा होइन आशा र आत्मविश्वास जगाउने, समाजलाई विभाजन होइन सद्भाव, सहकार्य र एकताका आधारमा अघि बढाउने प्रयास निरन्तर गर्दै आएको छु। अब यी प्रयासहरूलाई व्यक्तिगत तहमा सीमित नराखी संस्थागत रूपमा अघि बढाउने जिम्मेवारी लिन म दृढ संकल्पित छु।
यो निर्वाचन व्यक्ति वा पद प्राप्तिका लागि मात्र होइन, राजनीतिलाई पुनः विश्वासयोग्य बनाउने अभियान हो भन्ने मेरो स्पष्ट मान्यता छ। डर होइन विवेक, दबाब होइन निर्णय, र स्वार्थ होइन सेवा—यिनै मूल्यका आधारमा राजनीति गर्ने संस्कारलाई मजबुद बनाउने अवसरका रूपमा यस चुनावलाई लिनुपर्छ भन्ने विश्वास राख्दछु।यसैले पार्टीका सम्पूर्ण साथीहरूलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक आह्वान गर्दछु। साथै आम मतदाता दाजुभाइ तथा दिदीबहिनीहरूलाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय, सचेत र जिम्मेवार सहभागिता जनाउन विनम्र अनुरोध गर्दछु।
म तपाँईहरूबाट अन्धसमर्थन होइन, सचेत साथ, रचनात्मक सुझाव तथा आवश्यक आलोचनासहितको सहभागिता चाहन्छु। उम्मेदवार भएपछि मात्र होइन, निर्वाचनको परिणाम जे आए पनि जनतासँग संवाद, जवाफदेहिता र सेवाको प्रतिबद्धतामा मेरो अडान स्पष्ट छ र सदैव रहनेछ।
आउनुहोस्, राजनीतिलाई व्यक्तिको होइन मूल्यको, शक्तिको होइन सेवाको, र विभाजनको होइन सद्भावको माध्यम बनाऔँ।
लोकतन्त्रको यो यात्रामा १० न.क्षेत्रवासी सबैको विश्वास, बलियो उपस्थिति, साथ, सहयोग र सहकार्यको अपेक्षा गर्दछु ।















