७२ जनाको उम्मेदवारी फिर्ता, काठमाडाैं १० बाट १ जनासहित ८ जनाको उम्मेदवारी रद्द

Thankot Times

थानकोट ।

अगामी फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म १६५ निर्वाचन क्षेत्रकोलागि उम्मेदवारी दिएका कुल ३ हजार ४ सय ८७ उम्मेदवार रहेका छन् ।

शुक्रबारसम्म यीमध्ये विभिन्न कारणले ७२ जनाले उम्मेदवगारी फिर्ता लिएका छन् भने ८ जनाको उम्मेदवारी रद्द भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।  

पहिले स्वतन्त्र रुपमा उम्मेदवारी दिने र पछि निर्वाचन खर्च जुटाउन नसक्नुका साथै निर्वाचन झण्झटिलो भएको भन्दै स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको देखियो । यसैगरि दलगत उम्मेदवारी दिएका उम्मेदवारले भने दल भित्रकै किचलो र दबाकका कारण उम्मेदवारी फिर्ता लिएको देखियो । तर कारणमा ब्यक्तिगत, विशेष, र इच्छा नभएको खुलाएका छन् ।  

आयोगका अनुसार उम्मेदवार रद्द भएका उम्मेदवारहरुमाथि भिन्न समयमा लागेको आरोप पुष्टि भएपछि आयोगले उनीहरुको उम्मेदवारी रद्द गरेको सहायक प्रवक्ता जिसीले बताए ।

उम्मेदवारी रद्द हुनेहरुमा मोरङ क्षेत्र नम्बर ४ का उज्यालो नेपाल पार्टीका ३९ वर्षीय विनोद परियार, मोरङ क्षेत्र नम्बर ६ का जनता समाजवादी पार्टीका ४५ वर्षीय महमद जाविर, काठमाडौं क्षेत्र नम्बर ३का जय मातृभूमि पार्टीका २६ वर्षीय अविन मेयाङ्गवो र काठमाडों क्षेत्र नम्बर ३ स्वतन्त्र उम्मेदवार ३५ वर्षीय अमर तामाङ्ग रहेका छन् ।

यसैगरी आयोगले काठमाडौं क्षेत्र नम्बर १० का मितेरी पार्टी नेपालका ४९ वर्षिय सुमित्रा बस्नेत, रुपन्देही क्षेत्र नम्बर २ का सार्वभौम नागरिक पार्टीका ४५ वर्षीय कमला देवी गुरुङ, बर्दिया क्षेत्र नम्बर २का आमजनाता पार्टी (एकल चुनाव चिन्ह) का ४७ वर्षीय रामेश्वर चौधरी र बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ का आम जनाता पार्टी एकल चुनाव चिन्हकै ४९ वर्षीय मायाकुमारी थापामाथि विभिन्न समयमा लागेको आरोप पुष्टि भएपछि उम्मेदवारी रद्द गरेको जनाएको छ। ‘विभिन्न आरोप लागेका उम्मेदवारीहरुको विरुद्धमा आयोगमा पेश भएका कागजातहरु उपर थप छानविन गर्दा आरोप पुष्टि भएको देखियो,’ सहायक पव्रवक्ता जिसीले भने, ‘बलियो अधारले आरोप पुष्टि भएपछि ८ जना उम्मेदवारको उम्मेदवारी आयोगले रद्द गरिएको हो।’  

यसैगरि उम्मेदवारी दर्ता गरेपनि पछि आफ्नो इच्छा नभएका कारण ७२ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको तथ्याँक आयोगसँग छ ।‘उम्मेदवारी फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार बढी छन्,’ उनले भने, ‘उम्मेदवारी फिर्ता लिनेमा ३३ जना स्वतन्त्र उम्मेदवार नै छन् ।’ 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ