साफ फुटसल च्याम्पियनसिप : बंगलादेशविरुद्ध नेपालको सहज जित
थानकोट ।
नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिपमा पुरुषतर्फ बंगलादेशविरुद्ध ४–१ को सानदार जित हासिल गरेको छ ।
शनिबार बैंककस्थित नोनथाबुरी रंगशालामा नेपाललाई जित दिलाउन लाक्पा तामाङ, सरोज तामाङ, सञ्जय स्याङताङ र विक्रान्त नरसिंह राणाले १–१ गोल गरे । बंगलादेशका लागि रहबर वाहिद खानले १ गोल फर्काए ।
खेलको १४ औँ मिनेटमा लाक्पाको गोलमार्फत नेपालले अग्रता लिएको थियो ।
२९ औँ मिनेटमा सरोजले टोलीको अग्रता दोब्बर बनाए ।
खानले ३४ औं मिनेटमा बंगलादेशका लागि गोल फर्काए । १ मिनेटपछि नै सञ्जयले नेपालका लागि तेस्रो गोल गरे । विक्रान्तले ३७ औँ मिनेटमा गोल गर्दा नेपालले ४–१ सहज जित निकाल्यो ।
दोस्रो जितसँगै नेपालले ५ खेलमा ८ अंक जोडेको छ ।
अब नेपालले सोमबार भुटानको सामना गर्नेछ ।















