नागढुङ्गा नाकाबाट समातिए निरोज
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०२ नागढुङ्गा नाकाबाट एक जना पक्राउ परेका छन् ।
काठमाडाैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार नागढुङ्गा नाकामा प्रहरीले ७ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक जनालाई पक्राउ गरेको हो
आइतबार बिहान साढे ६ बजे काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१ ००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध फेला परेको हो।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गासहितको संयुक्त टोलीले बसमा सवार सुनसरी ईटहरी नगरपालिका ३ का ३६ वर्षीय निरोज न्यौपानेलाई शंका लागी चेकजाँच गर्दा ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकले बेरी लुकाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको बताइएको छ ।
घटनाका सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।
















