नेपालगन्जमा बालेन शाहलाई भव्य स्वागत
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) साहलाई सोमवार नेपालगन्जमा भव्य स्वागत गरिएको छ ।
पश्चिम नेपालको निर्वाचन प्रचार प्रसार भ्रमणका लागि सुदूरपश्चिम जाने क्रममा सोमवार नेपालगन्ज पुगेका रास्वपाका वरिष्ठ नेता साहलाई नेपालगन्ज विमानस्थल र नेपालगन्ज बजारमा भव्य स्वागत गरिएको हो ।
उनी विमानस्थलदेखि खुला जिपमा सवार भइ सडक वरिपरिका स्थानीयसँग हात हल्लाएर स्वागत स्विकार्दै नेपालगन्ज पुगेका थिए । मौसम खराब भएका कारण हवाई उडानमा ढिलाइ हुँदा निर्धारित कार्यक्रम भन्दा करिब पाँच घण्टा ढिलो नेपालगन्ज पुगेका साहलाई विमानस्थलमा सयौँ समर्थकहरूले स्वागत गरेका थिए भने नेपालगन्जस्थित रास्वपाको कार्यालयमा पनि सयौँ समर्थक तथा स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
वरिष्ठ नेता साहको स्वागतका लागि बिहानैदेखि ठुलो संख्यामा समर्थक, नेता कार्यकर्ता विमानस्थल पुगेका थिए भने जिल्ला पार्टी कार्यालय नेपालगन्जमा ठुलो संख्यामा उपस्थित रहेका थिए ।
विमानस्थलमा साहलाई बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार तथा रास्वपाका केन्द्रिय सदस्य खगेन्द्र सुनार, क्षेत्र नम्बर २ का उम्मेदवार विवेक कुमार श्रेष्ठ, निवर्तमान सांसद लक्ष्मी तिवारी, स्थानीय नेताहरू निलराज अधिकारी, बुद्धि सागर सुवेदी लगायतले स्वागत गरेका छन्।
साहद्वारा जिल्ला पार्टी कार्यालय उद्घाटनको कार्यक्रम रहे पनि कार्यालय वरिपरि अत्यधिक भिड रहेकोले उद्घाटन कार्यक्रम स्थगित गरिएको पार्टीका नेता बुद्धि सागर सुवेदीले बताए । रास्वपाका वरिष्ठ नेता साह नेपालगन्जबाट कोहलपुर हुँदै बर्दिया जिल्ला प्रवेश गरेका छन् । उनी बर्दिया हुँदै कैलाली जाने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।














