मतदातालाई कांग्रेस सभापति गगन थापाको पहिलो सम्बोधन(पूर्णपाठ)

Thankot Times

थानकोट ।

काठमाडौं ४ मा निर्वाचन लड्दै आएका नेपाली कांग्रेसका सभापति गगन थापा यसपटकटदेखि सर्लाही ४ झरेका छन् ।

२१ फागुनको निर्वाचनमा उम्मेदवारी दिएपछि उनै थापाले पहिलोपटक सोमबार सर्लाही ४ पुगेर मतदातालाई पहिलो सम्बोधन गरे ।

सम्बोधनका क्रममा विकास, समृद्धि र वैभवभन्दा मधेशलाई सिंगो नेपालभित्र सम्मान र बराबर हैसियत हुने गरी आफू काम गर्न मधेश झरेको उनको भनाइ छ ।

थापाको सम्बोधन पूर्णपाठ :

मधेशले सिंगो नेपालभित्र जुन मान, सम्मान, बराबर हैसियत प्राप्त गर्नुपर्ने हो, किन नपाएको होला ? यो प्रश्न मैले धेरैपटक उठाएँ । तर म प्रश्न उठाउन होइन, त्यसको उत्तर खोज्ने गरिकन तपाईंको प्रतिनिधि बन्न यहाँ आएको छु । अत्यन्त उत्साहित बनाएको छ । म नेपाली कांग्रेसको कार्यकर्ता हुँ । कांग्रेसको कार्यकर्ता भएको हुनाले गर्दा मधेशले कांग्रेसलाई लगाएको गुन, मधेशले नेपालको प्रजातन्त्रलाई लगाएको गुन, मधेशले सिंगो नेपाललाई लगाएको गुनको बारेमा राम्रोसँग जान्दछु । धेरै पढेर जान्दछु । किनकि म धेरै पछिको मान्छे हुँ । बीपी कोइरालाको बारेमा पढेर जान्दछु । मधेशले दिएको शहीदहरूको बारेमा पढेर जान्दछु ।

र पछिल्लो समय, मैले सबैभन्दा बढी संगत गरेको नेता प्रदीप गिरी हुनुहुन्छ । प्रदीप गिरीलाई हामी ‘चल्ताफिरता मधेश’ भनेर भन्छौँ । हामीलाई लिएर आउने, मधेशको बारेमा बताउने हाम्रो युगको नेता हुनुहुन्थ्यो, अहिले हाम्रो बीचमा हुनुहुन्न । मलाई त्यही बेलादेखि एउटा कुरा खड्किरहेको थियो । मेरो बाआमा पहाडबाट काठमाडौं आउनुभएको हो । त्यसैले पहाडको बारेमा मैले थाहा पाउने मौका पाएँ । हरेक वर्ष जान्थेँ । म काठमाडौंमा जन्मेको, हुर्केको हुनाले गर्दा काठमाडौंको रहनसहन, सुखदुःख त्यसै पनि थाहा पाउने भएँ ।

तर प्रदीप गिरीको संगत गर्दा मैले बुझेको, सिकेको कुरा के हो भने– जबसम्म मैले एकपटक आफूले आफूलाई मधेशमा गएर समर्पित गर्दिनँ, मधेशमा गएर समाहित गर्दिनँ, मैले जबसम्म आफूले आफूलाई आफूभित्र मधेश र मधेशभित्र आफूलाई लिएर आउने प्रयास गर्दिनँ, तबसम्म म सम्पूर्ण रूपमा नेपाली बन्न सक्दिनँ ।

त्यस कारणले गर्दा आज म एउटा विश्वासको साथ मधेश झरेको छु । केही सालअगाडि हुलाकी राजमार्गको यात्रा गर्दाखेरि मलाई मधेश आउँछु, यहीँ आउँछु, यहीँको साथीहरूको बीचमा बस्छु र यसको प्रतिनिधित्व गर्ने कोसिस गर्छु भन्ने कुरा अझ मनमा लागेको थियो । किन होला नेपालको प्रजातान्त्रिक आन्दोलनमा यत्रो ठूलो योगदान पुर्‍याएको, यति धेरै शहीदहरू नेपाललाई दिएको, प्रत्येक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गरेको ? मधेशले सिंगो नेपालभित्र जुन मान, सम्मान, बराबर हैसियत प्राप्त गर्नुपर्ने हो, किन नपाएको होला ? यो प्रश्न मैले धेरैपटक उठाएँ । तर म प्रश्न उठाउन होइन, त्यसको उत्तर खोज्ने गरिकन तपाईंको प्रतिनिधि बन्न यहाँ आएको छु ।

म अहिले यो बीचमा हुलाकी राजमार्गको यात्रा गर्दै गर्दा, मैले जति दिन हिँडेँ, त्यो दिन देखेको हुँ– कि यति धेरै सम्भावना भएको, यति धेरै खेती किसानीमा यहाँका दाजुभाइ दिदीबहिनी रम्दै गर्दाखेरि पनि यति धेरै यहाँका मानिसहरू खाडीमा काम गर्न जानुपर्ने बाध्यता किन भएको होला ? मैले हिजो प्रश्न गरेँ, म आज त्यसको उत्तर खोज्ने गरी आएको छु ।

कुनै बेला पहाडमा होला, काठमाडौंमा होला । मधेशको यहाँबाट कोही नगईकन गणितको कक्षा चल्दैन थियो । विज्ञानको कक्षा चल्दैन थियो । अहिले गणित र विज्ञान राम्रो नभईकन अबको १०–१२–१५ वर्ष नेपालको पनि आम्दानीको सबैभन्दा ठूलो स्रोत भनेको सूचना प्रविधि हो । सूचना प्रविधिको लागि केटाकेटीदेखि नै गणित जान्नुपर्छ, विज्ञान जान्नुपर्छ । मेरा बाहरूलाई सोलुखुम्बुको पहाडमा गएर सप्तरीको गणित शिक्षकले गणित पढाउनुभयो र मेरो बा इन्जिनियर बन्न सक्नुभयो ।

हिजो कुनै बेला त्यो इतिहास बोकेको मधेशमा आज देशभरिमा सबैभन्दा गणित र विज्ञान, अंग्रेजी तीनवटै भाषामा सबैभन्दा बढी कमजोर हाम्रो मधेशको विद्यालयहरू भएको अवस्था छ । मैले यो प्रश्न हिजो संसदमा उठाएँ, तर म आज यसको उत्तर खोज्न आएको हुँ । उत्तर पनि खोज्छु, समाधान पनि दिन्छु । 

मैले यो भनिरहँदै गर्दाखेरि, तपाईंहरूको बीचमा आएर म यो गर्छु, यो गर्छु, यो गर्छु भनेर चुनावको प्रतिबद्धता व्यक्त गर्न आएको होइन । निर्वाचन त आयो । निर्वाचन आउँदै गर्दा निर्वाचनमा हामीहरू होमियौँ । त्योभन्दा फरक कुरा, मैले आज नेपाली कांग्रेस पार्टीबाट जिम्मेवारीको रूपमा रहँदै गर्दा देशभरिका विषयहरूलाई, मुद्दाहरूलाई मैले उठाउनुपर्ने छ । तर म यहाँको प्रतिनिधि भएर यहाँको मुद्दालाई विशेष ढंगले लिएर जान चाहन्छु ।

मसँग मेरा आफ्ना केही कार्यक्रमहरू छन्, योजनाहरू छन् । समय सँगसँगै तपाईंहरूलाई मैले बताउँछु । म जे गर्छु भनेर आएको छु, त्यो गर्ने एउटा मनभित्र प्रतिबद्धता लिएर आएको छु । शिक्षामा लामो समयदेखि मलाई मद्दत गरिराख्नुभएको साथीहरू दुई दिनदेखि यो क्षेत्रमा घुमिराख्नुभएको छ । स्वास्थ्यमा मैले लामो समय काम गर्ने मौका पाएँ, स्वास्थ्यको मेरो टिम पनि विगत दुई दिनदेखि यही क्षेत्रमा घुमिरहेको छ । कृषिको एउटा समूह आज मसँगै आएको छ । र सिँचाइको सन्दर्भमा करिब एक हप्तादेखि मेरो टिम यो क्षेत्रमा घुमिरहेको छ ।

म, मलाई आउँदै गर्दा साथीले लेखेर दिनुभएको थियो– यो बोल्नुस्, यो बोल्नुस् भनेर । म केही पनि बोल्दिनँ । किनकि अर्काले लेखेर दिएको, मैले यहाँ आएर पढेर तपाईंहरूको बीचमा आएर म बोल्दिनँ । मेरो टिमले यहाँ आएर सबै ठाउँ बसेर तयारी गर्छ । त्यो तयारी गरेको आधारमा त्यसलाई म मेरो कार्यक्रम बनाउँछु र ५ वर्षसम्म तपाईंहरूको बीचमा बसेर मैले त्यो समस्याको समाधान गर्छु ।

यो मैले यत्तिकै भनेको होइन । म तीनपटक काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएको सांसद हुँ । र यसपटक पनि सर्लाही जाने भन्ने मेरो सोच भइसकेपछाडि, मेरो निर्वाचन क्षेत्रको साथीहरू रुवाबासी गर्दै, कुनै पनि हालतमा यो निर्वाचन क्षेत्र छाड्न पाउनुहुन्न भनेर मलाई रोक्न, छेक्न आउनुभएको थियो । म ती साथीहरूप्रति जीवनभर ऋणी छु । त्यो ठाउँलाई सधैँभरि मेरो हृदयमा राखेको छु, म सम्झिराखेको छु । सम्झन्छु पनि । किनकि त्यो गुणलाई, त्यो ऋणलाई मैले कहिले पनि तिर्न सक्दिनँ । तर यति कुरा म भन्न सक्छु कि ती साथीहरू चौथो पटक मलाई सांसद बनाउन किन आउनुभयो भने, तीन–तीनपटक सांसद बन्दै गर्दाखेरि मैले ती साथीहरूको मन जित्न सकेँ, त्यसकारणले गर्दा चौथोपटक सांसद बनाउनका निम्ति आउनुभएको हो ।

मैले सांसद बन्दै गर्दाखेरि मेरो घर, मेरो आँगन, मेरो ढोका, मेरो हृदय सधैँभरि मेरो आफ्नो क्षेत्रको मतदाताका निम्ति सधैँभरि खुला राखेँ । सर्लाही ४ नम्बर मा आएको छु, आजदेखि म तपाईंको भएको छु । तपाईंको यहाँको प्रत्येक नागरिकको सुखमा मात्र होइन, प्रत्येक नागरिकको दुःखमा पनि प्रत्येक ठाउँ, कुनै बीचमा कोही माध्यम चाहिँदैन । किनकि म के विश्वास गर्छु भने– सांसद भनेको त्यो ठाउँको सेवक हो । तपाईंको सबैभन्दा बढी हक अब म माथि लाग्छ । तपाईंले दिन–रात, कुनै पनि बेलामा, चाहेको बेलामा, तपाईंको दुःख–सुख, अप्ठ्यारोको बेलामा तपाईंले मलाई पाउनुपर्छ ।

यहाँ नौजवान युवकहरू हुनुहुन्छ । कति जना नौजवान युवकहरू भोलि यहाँबाट पढिसकेपछि काठमाडाैं आउनुहुन्छ । कतिजना नयाँ रोजगारीको खोजीमा हुनुहुन्छ । म जादुको छडी जस्तो यो गर्छु, यो गर्छु, यो गर्छु भन्दिनँ । मैले यहाँको विकास निर्माणको कामहरू गर्नुपर्ने छ । मैले यहाँको शिक्षा, स्वास्थ्य, कृषिको कामहरू गर्नुपर्ने छ । र यहाँको नागरिकको, खास गरिकन यहाँको नौजवानहरूको व्यक्तिगत जीवनमा, चाहे त्यो रोजगारी होला, चाहे वृत्तिविकास होला, मैले सकेसम्म ज्यान दिएर उनीहरूको काममा मद्दत गर्नुपर्ने छ । त्यो काम मैले कसरी गर्छु ? मैले जसरी काठमाडाैंमा गरेँ, त्यो तीनपटकको सांसदको अनुभवलाई पनि बोकेर यहाँ आएको छु ।

मेरो सर्लाही क्षेत्र नम्बर ४ मा, तपाईंले मलाई सांसदको रूपमा जिम्मेवारी दिँदै गर्दाखेरि मेरो एउटा स्थायी यहाँ सांसदको कार्यालय रहनेछ । त्यो कार्यालय सधैँभरि खुला रहनेछ । सर्लाही क्षेत्र नम्बर ४ को कुनै पनि नागरिकले सांसद खोज्नको लागि काठमाडाैं आउनुपर्दैन । यो कार्यालयले यहाँभित्र सम्पूर्ण रूपमा व्यवस्थित रूपमा यहाँको साथीहरूको सबै कुरालाई हेर्नेछ । र काठमाडाैंमा त्यसै गरिकन सर्लाहीको मतदाताको निम्ति अर्को एउटा कार्यालय रहनेछ । कुनै पनि व्यक्ति, कसैले पनि, यो क्षेत्रको व्यक्तिले, यो क्षेत्रको नागरिकले, यो क्षेत्रको मतदाताले यहाँ आफ्नो समस्या यहाँ बिसाउने, होइन यहाँ यो भन्दा बाहिर गएर केही कुरा गर्नुपर्ने छ भने त्यसका निम्ति, मैले गएको १५ वर्ष जसरी सिकेर आएँ, काम गरेर आएँ, ती सारा अनुभव म यहाँ लगाउन चाहन्छु ।

शिक्षामा, स्वास्थ्यमा यत्रो वर्ष काम गर्ने गर्दा मैले जे आर्जन गरेको छु, जे समूह बनाएको छु, जे जति सम्बन्ध बनाएको छु, त्यो सबै कुरा म यो मेरो क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ मा लगाउन चाहन्छु । म तपाईंलाई यति कुरा विश्वास दिलाउन चाहन्छु– यो निर्वाचन क्षेत्रको एक जना मतदाताले पनि फागुन २१ गते हुने निर्वाचनमा, मैले रुख चिह्नमा, गाछी चिह्नमा मतदान गरेर गगन थापालाई हाम्रो प्रतिनिधि बनाएँ भनेर एक जनाले पनि शर निहुराउनुपर्ने अवस्था आउँदैन ।

मैले आज मलाई साथीहरूले यो पनि भन्नुभएको थियो– तपाईंले आज दुइटा–दुइटा लाइन भए पनि यहाँको भाषा सिकेर जानुपर्छ । मैले भनेँ– म त्यो चटके जस्तो काम गर्दिनँ । म यहाँको भइसकेपछि म यहाँको भाषा सिक्छु । यहाँको रहनसहन सिक्छु । यहाँको पर्व, यहाँको महोत्सव सबैसँग भिज्छु । म त सिक्न आएको । म त तपाईंहरूको हुन आएको । म एकछिन आएर, बोलेर, हात हल्लाएर फोटो खिचाउन आएको होइन । म तपाईंहरूकै हुन आएको । म तपाईंहरूको अंग हुन आएको, म तपाईंहरूको अंश हुन आएको । म तपाईंहरूभित्र समाहित हुन आएको । मधेशभित्र म पनि छ, देश पनि छ । म त्यो देशलाई चिन्न, बुझ्न, त्यसको अंग हुन आएको । त्यसैले म एकछिन आएर, म दुइटा लाइन कण्ठ गरेर आएर, फोटो खिचेर आएर, हात हल्लाएर जान्नँ । म तपाईंहरूको बीचमा बस्छु, तपाईंहरूको सुख–दुःखमा आएको हुँ । 

यति कुरा भन्न सक्छु, यति कुरा यहाँ विनोद चौधरीजी हुनुहुन्छ, मेरो साथी यहाँ सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुनुहुन्छ। यहाँ आदरणीय फर्मुल्लाह मन्सुर दाइ हुनुहुन्छ, बाराबाट उम्मेदवार हुनुहुन्छ । यहाँ हाम्रो डा. सरोज यादव हुनुहुन्छ, यहाँ अहिले २ नम्बर क्षेत्रको उम्मेदवार हुनुहुन्छ । हामी सबै नेपाली कांग्रेसका साथीहरू यो पटक सानदार ढंगले मधेशबाट निर्वाचित भएर आउँछौँ भन्ने हामीलाई विश्वास छ । यो विश्वासको आधारमा यति कुरा भन्न सक्छु– कम्तीमा यो सर्लाही क्षेत्र नम्बर ४ मा ५ वर्षभित्र हुने नियमित कामहरू छँदै छ । यहाँको शिक्षामा, यहाँको स्वास्थ्यमा, यहाँको कृषिमा, यहाँको युवाहरूको रोजगारीमा हुने काम, देशभरि चर्चाको विषय, देशभरि उदाहरणको विषय, देशभरि यस्तो हुनुपर्छ भन्ने कुरा मैले बनाउन नसक्दै गर्दा, मेरो लागि जीवनको त्यो सबैभन्दा ठूलो हार हुन्छ । यति गर्छु भन्ने विश्वास लिएर आएको छु । 

यसपटक तपाईंहरू जति पनि साथीहरू हुनुहुन्छ, तपाईंहरू आफैँले त मिहिनेत गर्नुभएको छ नै । तपाईंहरूले यत्रो ठूलो भरोसा गर्नुभएको छ । म यहाँको क्षेत्रीय सभापतिजीलाई हृदयबाटै आभार प्रकट गर्छु । यहाँको अरू साथीहरूलाई हृदयबाट आभार प्रकट गर्छु । तपाईंहरूले यत्रो ठूलो विश्वास गरेर मलाई यहाँ उम्मेदवार बनेर आइदियोस् भनेर भन्नुभयो । म आज उम्मेदवार बनेर आउने मौका पाएको छु । तपाईंहरूको मिहिनेतमा सर्लाहीको क्षेत्र नम्बर ४ बाट मलाई तपाईंले एउटा यो ठाउँको सेवा गर्ने अवसर तपाईंहरूले उपलब्ध गराउनुपर्छ ।

म नौजवानहरू, नवयुवकहरूलाई पनि म अनुरोध गर्छु– तपाईंहरूको एउटा साथीको रूपमा, तपाईंहरूको एउटा अभिभावकको रूपमा, तपाईंहरू सँगसँगै काम गर्ने मन छ । पुरानो कांग्रेसका साथीहरू यहाँ हुनुहुन्छ, नेताहरू यहाँ हुनुहुन्छ । यत्रो वर्षौंदेखि यो ठाउँमा तपाईंहरूले नेपाली कांग्रेसलाई मद्दत गर्दै आउनुभएको छ । तपाईंहरूको मान–प्रतिष्ठा नघट्ने गरिकन काम गर्छु ।

अब चार दिन म यहाँ रहन्छु । र त्यस पछाडि फेरि पार्टीको जिम्मेवारीमा भएको हुनाले गर्दा मलाई नेपालको अरू ठाउँहरू पनि पुग्नुछ । ती ठाउँहरूमा जान्छु र फेरि म आउँछु । मेरो अनुपस्थितिमा पनि अब तपाईंहरू घरघर जानुपर्छ । ‘म नै गगन थापा हो’ भनेर जानुपर्छ। ’म नै कांग्रेसको उम्मेदवार हो’ भनेर जानुपर्छ । मेरो कुरा तपाईंहरूले घरघरमा गएर पुर्‍याउनुपर्छ । म यहाँभित्रको सबै समुदाय, सबै जाति जति पनि हामीहरू यहाँ छौँ, म सबैलाई समान ढंगले लिएर गएर, सबैको प्रतिनिधित्व गर्ने मैले प्रयास गर्छु । म कहीँ पनि नचुक्ने प्रयास गर्छु ।

अरू ठाउँको लागि म कांग्रेसको सभापति  हुँ, अरू ठाउँको लागि म नेता हुँ । तर सर्लाही ४ को लागि होइन । सर्लाही ४ को म तपाईंको सेवक हुँ । म यहाँको सेवा गर्छु । मैले यही गरेर आएको हुँ । मैले काठमाडाैं क्षेत्र नम्बर ४ मा तीन–तीन पटक निर्वाचित हुँदै गर्दाखेरि मैले त्यही नै गरेर आएको हुँ । त्यसकारणले गर्दाखेरि मैले अघि भनेँ, अप्ठ्यारो बेलामा, देशभरि सबै ठाउँ कांग्रेस हारेको बेलामा पनि म काठमाडाैंबाट मेरो क्षेत्रमा निर्वाचित हुनुको कारण भनेकै क्षेत्रमा मैले कहिले पनि म यहाँको सांसद हुँ, म यहाँको मन्त्री हुँ भनेर कहिले ठानिनँ । म यहाँको सेवक हुँ, यहाँको मतदाता मेरो भाग्य मलाई मेरो भाग्य निर्माण गर्दिने भनेको यहाँको मतदाता हो, यिनले मलाई बनाएका हुन् । यिनी मेरो अगाडि निहुरिने होइन, म यिनको अगाडि निहुरिनुपर्छ भन्ने मैले ठानेँ । सर्लाहीको सन्दर्भमा मैले त्यही नै गर्छु । तपाईंलाई यो कुराको विश्वास दिलाउँछु ।

आज पहिलो दिन, खासै यहाँ बोल्ने कार्यक्रम पनि थिएन । यति कुरा मात्र राखेँ । अरू फेरि मेरो धेरै कुराहरू छन्, तपाईंहरूसँग गर्नुपर्ने, नेपाली कांग्रेस पार्टीले ५ वर्ष सरकार चलाउन पाउँदै गर्दाखेरि हामी भर्खर पार्टी बदलिएर आएका छौँ । बदलिएको नेपाली कांग्रेस पार्टीले देशलाई कसरी बदल्छ भन्ने योजना बोकेर आएका छौँ । म नेपाली कांग्रेस पार्टीको तर्फबाट पार्टीले भर्खर निर्णय गरेको प्रस्तावित प्रधानमन्त्रीको उम्मेदवार हुँ । प्रधानमन्त्रीको उम्मेदवार रहँदै गर्दा, स्वाभाविक रूपमा, मसँग ५ वर्ष नेपाल हाँक्दै गर्दा, नेपाल कसरी हाँक्ने हो भन्ने कुराको बारेमा प्रस्ट सोच पनि छ, दृष्टिकोण पनि छ । म कसै अरूको बारेमा टिप्पणी गर्दिनँ । सबै राजनीतिक दलका साथीहरू हाम्रा साथीहरू हुन् । मेरो कसैका बारेमा कुनै पनि क्षुद्र टिप्पणी रहँदैन । चाहे देश माथिल्लो तहमा होस्, चाहे क्षेत्रको तहमा होस्। सबैले आफ्नो विचार राखेर जाने  हो। म अरुको विचार खराब छ भन्दिनँ । तर मेरो पार्टीको, हाम्रो पार्टीको दृष्टिकोण, विचार तपाईंहरूको बीचमा राख्छु । अरू कुनै बेला राखौँला । आज भर्खर आएको छु, आज म यहाँको साथीहरूसँग बस्छु, कुराहरू सुन्छु । कांग्रेसको बारेमा पनि देश चलाउने हाम्रो विचारहरू म राख्छु ।

क्षेत्रको बारेमा पनि मैले अघि भनेँ, मेरो टिमले काम गर्न सुरु गरेको छ । केही दिनभित्रमा यहाँको सबै कुरा तयार भएपछि अनि बल्ल म तपाईंहरूको बीचमा आएर म शिक्षामा यो गर्छु, स्वास्थ्यमा यो गर्छु भनेर औँला भाँचेर, गनेर म तपाईंहरूको बीचमा राख्छु । तपाईंहरूको बीचमा फेरि बसेर कुराकानी गरौँला । यत्रो उत्साह देखाइदिनुभएको छ । तपाईंहरू सबलाई आभार प्रकट गर्दै अब फागुन २१ गतेसम्म तपाईंहरू दिन–रात खट्नुहुन्छ भन्ने विश्वास राख्दै मेरो कुरा टुंग्याउँछु ।
धन्यवाद ! नमस्कार ! जय नेपाल ! 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ