आज धेरैजसो स्थानमा हल्का वर्षाको सम्भावना
थानकोट ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । आज साँझसम्म पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका विभिन्न ठाउँमा हिउँ/पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेश र कोशीका पहाडी भू-भागका थोरै स्थान र कोशीको तराईका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
साथै लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आज बिहानैबाट देशभर नै बादल लाग्ने र काठमाडौंमा पनि हल्कादेखि मध्यमसम्म वर्षा गराउने सम्भावना छ । प्रणाली पूर्वतर्फ सर्दै आउँदा कोशी र मधेशमा अलि कम असर देखिने सम्भावना रहेको पनि उनले बताए ।
यसैगरी, मौसमविद् विनोद पोखरेलले आज दिनभरि अधिकांश ठाउँमा हल्का वर्षा हुने र भोलि (बिहीबार)देखि केही ठाउँमा बादल लागे पनि मौसम खुल्दै जाने बताए।















