प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२: भिजन १० नाम दिएर चुनावी घोषणापत्र तयार पार्दै कांग्रेस

Thankot Times

थानकोट ।

२१ फागुनमा हुने प्रतिनिधिसभाको चुनाव आउन ३७ दिन बाँकी हुँदा राजनीतिक दलहरू घोषणापत्र लेखनमा जुटेका छन् ।पुस मसान्तमा विशेष महाधिवेशन गरेर नेतृत्व फेरेको नेपाली कांग्रेसले घोषणापत्र लेख्ने जिम्मा सभापति गगन थापालाई दिएको छ ।  नयाँ कार्यसमिति बनेपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले घोषणापत्र निर्माणको जिम्मेवारी थापालाई दिने निर्णय गरेको थियो । तर कांग्रेसले घोषणापत्र लेखन समितिलाई भने पूर्णता दिन सकेको छैन । कांग्रेस सभापति थापा सर्लाही ४ मा चुनावी अभियानको लागि व्यस्त बनेका छन् ।

थापा काठमाडौ फर्किएपछि समितिले बुधबारसम्ममा पूर्णता पाउने कांग्रेस नेताहरू बताउँछन् । थापाको सचिवालयमा रहेका तथा कांग्रेसको घोषणापत्रमा काम गरेका नेता प्रताप पौडेल घोषणापत्रका लागि प्रारम्भिक काम मात्र भएको बताउँछन् । ‘सभापतिज्यू टिकट वितरणदेखि उम्मेदवारी मनोनयन दर्तालगायत काममा एकदमै व्यस्त हुनुभयो । यद्यपि, घोषणापत्र लेखनको प्रारम्भिक चरणको काम भने सुरु भएको छ,’ उनले शिलापत्रसँग भने, ‘विज्ञहरूसँग सुझाव लिने काम भएको छ । बाँकी कामहरू गर्दै जानेछौँ ।’

कांग्रेसले माघ १० गते घोषणापत्र सार्वजनिक गर्ने महामन्त्री प्रदीप पौडेलले दाबी गरेका थिए । ‘हामीले ल्याउने दृष्टिकोण १० गते सार्वजनिक गर्दै छौँ । हामीले कुन विषयमा कस्तो धारणा राख्छौँ भन्ने कुरा घोषणापत्रले स्पष्ट पार्ने छ,’ कांग्रेसका पौडेलले ६ माघमा मनोनयन दर्तापछि भनेका थिए । तर उनले दाबी गरेअनुसार कांग्रेसले काम गर्न सकेको छैन । समितिलाई पूर्णता दिने कामसम्म भएको छैन ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार घोषणापत्रमा भिजन–१० समेटिने भएको छ । उनका अनुसार घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यावहारिक कार्ययोजनालाई मुख्य आधार बनाउनेछ । घोषणापत्रलाई आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गर्नेछ ।

घोषणापत्रको लागि जिल्लातहमा समेत सुझाव लिएको र त्यसलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिने चालिसेले बताए । ‘कांग्रेसले गर्नसक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयनयोग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ,’ प्रवक्ता चालिसेले भने, ‘यो घोषणापत्रले हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गर्नेछ ।’

भिजन १० भनेर कांग्रेसले आफ्ना कुराहरूलाई प्रस्ट रूपमा राख्ने प्रयास गर्ने लेखनमा सहभागी एक सदस्यले जानकारी दिए । कांग्रेस सभापति थापाले गत भदौ २४ मा भएको जेन–जी विद्रोह अघि र पछिको नेपाल फरक रहेको बताउँदै आएका छन् । ती कुरालाई कसरी समेट्ने भन्ने प्रश्नमा ती सदस्यले भने, ‘उहाँले (सभापति) भन्दै आउनुभएको कुराहरू नै मुख्य प्राथमिकता हुनेछ । समाजमा देखिएका समस्यालाई समाधानसँग जोड्ने स्रोतको पहिचानसमेत गर्ने प्रयास गर्नेछौँ ।’

घोषणापत्र चुनावपछि बिर्सने राजनीतिक दलको रोग छ । कम्तीमा यसपटकलाई सो आरोपबाट मुक्त हुने प्रयास कांग्रेसले गर्ने नेताहरू बताउँछन् । ‘अघिल्लोपटक हामी सरकारमा थियौँ । संघदेखि प्रदेश र स्थानीय तहमा हुँदा घोषणापत्रका कुराहरू के–के भए भनेर फर्किएर हेर्नसमेत भ्याएका छैनौँ । यो कांग्रेसको मात्र होइन सबै दलको समस्या हो । कम्तीमा यसबाट मुक्त हुन पनि भिजन १० ले सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा हो,’ घोषणापत्रमा काम गरिरहेका एक नेताले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ