चन्द्रागिरि डाँडामा हल्का वर्षा, आज हिउँ पर्ने सम्भावना छ ? यस्तो छ माैसमविद्को भनाइ

Thankot Times

थानकोट ।

पश्चिमी वायुको प्रभावका कारण काठमाडौंमा आज बिहानैबाट मौसममा बदली भएको छ । काठमाडौंमा बिहानैबाट बादल लागिरहेको छ ।

चन्द्रागिरिलगायत केही स्थानमा छिटपुट वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंका धेरै स्थानमा भने दिउँसो वर्षा हुनेछ ।

वर्षा हुने भए पनि काठमाडौं आसपासका अग्ला भूभागहरूमा हिमपातको सम्भावना भने निकै न्यून छ । चन्द्रागिरि, शिवपुरीलगायत अग्ला डाँडाहरूमा पनि हिमपातको सम्भावना कम रहेको मौसमविद् विनु महर्जन बताउँछिन् ।

“हिमपात हुन लामो समय बादल लाग्नुपर्छ । तापक्रम निकै धेरै चिसो हुनुपर्छ,” मौसमविद् महर्जन भन्छिन्, “तर, अहिले तापक्रम पनि धेरै चिसो छैन । र, बादल पनि लामो समयसम्म लाग्ने सम्भावना छैन ।”

साँझबाट बादल हट्दै जाने र भोलिसम्म मौसम सफा भइसक्ने उनको भनाइ छ । पश्चिमी वायुको प्रभाव आज रातिबाट कमजोर भएर भोलिसम्म हटिसक्ने उनी बताउँछिन् ।

त्यसैले यदि, हिमपात भए पनि भुइँमा जम्मा हुने खालको नहुने उनी प्रष्ट पार्छिन् । “हिमपात हुने सम्भावना न्यून छ,” उनी भन्छिन्, “यदि, भयो भने पनि भुइँमा जम्मा भएर देखिनगरी पर्दैन ।”

यसैबीच, पश्चिम नेपालमा भने धेरै स्थानमा हिमपात भइरहेको छ । बाजुरा, हुम्ला, मुस्ताङ, बागलुङलगायत जिल्लाका उच्च पहाडी र हिमाली भूभागमा हिमपात भइरहेको छ ।

विभागले दिउँसो देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनेछ ।

बागमती, मधेस र कोसी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा  र कोसी प्रदेशको तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति कोसी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

आज राति १/२ बजेसम्म वर्षा गराउने प्रणाली सक्रिय रहनेछ । त्यसपछि क्रमशः कमजोर हुँदै जाने र भोलि (बिहीबार) देशका अधिकांश भूभागम मौसम सफा रहने विभागको पूर्वानुमान छ ।

फाइल तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *