चन्द्रागिरिमा भित्रियो फेन्सिङ खेल, नगरप्रमुख गिरीको उपस्थितिमा खेल सामाग्री हस्तान्तरण (फोटो फिचर)

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१० सतुङ्गल बोसिगाउँस्थित धनबहादुर खेलकुद प्रतिष्ठानमा फेन्सिङ खेलको औपचारिक सुरुवात गरिएको छ।

शनिबार (माघ १७) चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीको उपस्थितिमा बागमती फेन्सिङ संघका अध्यक्ष निराकर मान सिं रेग्मी, नेपाल फेन्सिङ संघका उपाध्यक्ष अभिषेक कार्की, प्रशिक्षक जंग गिरी, राजेन्द्र गजुरेलले धनबहादुर खेलकुद प्रतिष्ठानका लागि फेन्सिङ सामाग्री हस्तान्तरण गरेका हुन् ।

सो क्रममा चन्द्रागिरि नगरका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, वडाध्यक्षहरू शिवकुमार महर्जन, अच्युत अधिकारीसहित धनबहादुर खेलकुद प्रतिष्ठानसँग सम्बन्धित पदाधिकारीहरू तथा विभिन्न खेलका प्रशिक्षार्थीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो । 

के हो फेन्सिङ खेल ?

सेतो पोसाक लगाएर दुई व्यक्तिबीच प्रतिस्पर्धा हुने फेन्सिङ खेल १५औं शताब्दीबाट फौजी संगठनबाट सुरु भएको खेल हो। यसको सुरुवात कहाँबाट भयो भन्नेमा अहिले पनि विवाद छ। ऐतिहासिक प्रमाणका आधारमा १५औं शताब्दीको अन्त्यतिर जर्मनीको फ्याङकफटमा पहिलोपल्ट फेन्सिङ प्रतियोगिता आयोजना भएको पाइन्छ।

फेन्सिङ इजिप्टबाट सुरु भएको भन्ने दाबी छ। तर, यहींबाट सुरु भयो भन्ने एकिन तथ्यांक भने पाइँदैन। स्पेन, इटाली, फ्रान्समध्ये एउटा देशबाट सुरु भएको हो भन्नेमा सबैको एकमत रहेको नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठ बताउँछन्। ‘फेन्सिङ त्यहींबाट सुरु भएको हो भन्ने एकिन तथ्यांक छैन। यस खेलमा फ्रेन्च शब्दको प्रयोग हुने भएकाले युरोपबाटै सुरु भएको हो भन्ने मान्न सकिन्छ’, महासचिव श्रेष्ठ भन्छन्, ‘फेन्सिङ सुरुमा युद्धमा तरबारवाजीका रुपमा सुरु भएको थियो। यसैलाई परिस्कृत गरी खेलकुदका रुपमा प्रयोग गरिएको हो।’ सन् १८९६ मा ग्रिसको एथेन्स शहरमा भएको मोर्डन ओलम्पिकमा समावेश गरिएका नौ खेलमध्ये फेन्सिङ पनि एक थियो। त्यही कारण फेन्सिङलाई ओलम्पिककै सबैभन्दा पुरानो खेलका रुपमा पनि लिने गरिन्छ।

फेन्सिङका तीन विधा छन्, ईपी, फोयल र साबर। तीन वटै विधामा टिम र व्यक्तिगत प्रतिस्पर्धा हुन्छ। विधा अनुसार खेलाडीको पोसाक र सोड (तरबार) पनि फरक फरक हुन्छ। ईपीमा टाउकोदेखि खुट्टासम्म जहाँ छोए पनि अंक आउँछ। फोयलमा सेन्सर भएको इलेक्ट्रिक ज्याकेटभित्र पाँच सयदेखि सात सय ५० ग्रामको फोर्सले छोए मात्र अंक आउँछ। साबर सबैभन्दा फास्ट गेम हो। यसमा फोयलसँगै हात र टाउकामा छोए पनि अंक बटुल्न सकिन्छ। तीन मिनेटको समयमा जसले पहिले ५ अंक पुर्याउँछ, उसैले खेल जित्छ। तर, नकआउट चरणका लागि भने १५ अंक आवश्यक पर्छ। फेन्सिङमा जम्मा १२ स्वर्णका लागि प्रतिस्पर्धा हुन्छ।
विश्वमा सुटिङपछि सबैभन्दा
‘फास्टेस्ट’ खेल फेन्सिङलाई मानिन्छ। युरोपियन मार्सल आर्ट्सका रुपमा हेरिने फेन्सिङ मार्सल आर्ट्सका सबैभन्दा सुरक्षित खेल पनि हो। टाउकोदेखि खुट्टासम्म सम्पूर्ण सुरक्षा उपकरण लगाएर खेलिने भएकाले फेन्सिङमा खेलाडी घाइते हुने जोखिम हुँदैन् ।

नेपालमा सन् २००९ बाट औपचारिक रुपमा फेन्सिङ खेल सुरु भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *