प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ः थानकोटमा १९० जना निर्वाचन प्रहरीले तालिम लिँदै
थानकोट ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि छनोट भएका निर्वाचन सुरक्षा प्रहरीलाई तालिम दिने कार्य आइतबार (माघ १८) बाट देशैभर औपचारिक रुपमा सुरु भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेकोमा विभिन्न परीक्षा उत्तीर्ण भएका आवेदकहरू तालिम कार्यका लागि सहभागी हुने भएका हुन् ।
तालिमका दाैरान निर्वाचन सुरक्षा प्रहरीले गर्नुपर्ने कामको प्रकृति, तालिम अवधि, उनीहरूले पाउने सेवा सुविधा तथा कारबाही सम्बन्धी विषयमा जानकारी गराइनुका साथै निर्वाचन कार्यक्रमका दिन गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराइने छ ।
यसैबीच प्रहरी वृत्त थानकोटले सो प्रहरी कार्यालयको कार्य क्षेत्रभित्र स्थापना हुने मतदान केन्द्र एवं मतदान स्थलको सुरक्षाका लागि खटिने निर्वाचन प्रहरीलाई तालिम सुरु गरेको छ ।
चन्द्रागिरि नगरपालिका-०४ थानकोटस्थित शहीद स्मारक प्रकृति प्रतिष्ठान त्रिभुवन पार्कमा आइतबार सुरु भएको सो तालिममा १९० जना निर्वाचन प्रहरी सहभागी भएको प्रहरी वृत्त थानकोट प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरीको भनाइ छ । जसमा ५५ जना महिला रहेका छन् । उनीहरूले अबको १० दिन हरेक दिन बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म तालिम लिनेछन् । प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरीहरुले निर्वाचन प्रहरीलाई अभिमुखीकरणसहितको प्रशिक्षण दिने बताइएको छ ।
तालिम पश्चात निर्वाचन सुरक्षा योजना अनुसार उनीहरू कार्य क्षेत्रमा खटिनेछन् ।
प्रहरी वृत्त थानकोटले चन्द्रागिरि नगरपालिका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने कार्य गर्दछ ।
यस नगरको वडा नं. १, १२, १३, १४, र १५ काठमाडाैं निर्वाचन क्षेत्र नं. ९ मा पर्दछ । नगरका वडा नं. २ देखी ११ सम्मका क्षेत्र काठमाडाैं निर्वाचन क्षेत्र नं. १० मा पर्दछ ।
निर्वाचन आयोगका अनुसार काठमाडाैं क्षेत्र नं. १० अन्तर्गत चन्द्रागिरि नगरमा १२ मतदान केन्द्र र काठमाडाैं निर्वाचन क्षेत्र नं. ९ अन्तर्गत चन्द्रागिरि नगरपालिका क्षेत्रमा १० मतदान केन्द्र रहेका छन् ।
















