कीर्तिपुरमा सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सुरु, १५ टोलीको सहभागिता

Thankot Times

थानकोट ।

आइतबारबाट कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलको मैदानमा तेस्रो एनएपिएफ अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सुरु भएको छ।

प्रतियोगितामा १५ टिम सहभागी हुँदैछन्। उपत्यकाका ११, काभ्रे, बाँके र सप्तरीका एक, एक गरेर १४ विद्यालयका १५ टिमबिच लिगकम नकआउटका आधारमा खेल हुने छन्।

प्रतियोगितामा नेपाल एपिएफ स्कुल कीर्तिपुरका रातो र निलो दुई टिम, नेपाल एपिएफ, कोहलपुर, नेपाल एपिएफ ठाकोदेवी जोगेन्द्र भगत, सप्तरी, सैनिक आवासीय महाविद्यालय, भक्तपुर, नेपाल पुलिस स्कुल, साँगा, राई स्कुल, जेम्स, डिएभी, ब्राइट होराइजन चिल्ड्रेन्स होम, पिस प्वाइन्ट, ब्राइट एन्जल, पेगासस स्कुल, सन साइन स्कुल र बाघ भैरव स्कुल सहभागी हुँदै छन्।

सशस्त्र प्रहरी बल, नेपाल मानव स्रोत विभाग प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगिताको समापन सशस्त्र प्रहरी बलका प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालको प्रमुख आतिथ्यमा फागुन ८ गते हुनेछ।

प्रतियोगिताको उपाधि विजेताले ६० हजारसहित ट्रफी पाउने छ।

दोस्रो हुने टिमले ट्रफीको साथमा २० हजार र तेस्रो हुने स्कुलले १० हजार पुरस्कार पाउने छन्।  प्रतियोगितामा फेयर प्लेयर, बेस्ट गोल किपर, बेस्ट प्लेयर र हाइ स्कोररले पुरस्कार पाउने छन्।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल एपिएफ स्कुल, कीर्तिपुर (रातो) विजयी भएको छ।  एपिएफ रातोले पेगासस स्कुल, गोकर्णेश्वरलाई ६–० गोल अन्तरले हराएको हो।

एपिएफ रातोका लागि रोहित गोलेले तीन गोल गरे, तेन्जिङ् शेर्पाले दुई र अमन भगतले एक गोल गरे ।

उद्घाटन खेलमा एपिएफ रातोका तेन्जिङ्ग प्लेयर अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुँदैछन्।

जसमा पहिलो खेलमा पिस प्वाइन्ट, बानेश्वर र सनसाइन स्कुल, चन्द्रागिरि भिड्ने छन् भने दोस्रो खेलमा जेम्स स्कुल, धापाखेल र बाघभैरव स्कुल, कीर्तिपुरले प्रतिस्पर्धा गर्ने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *