टी-२० विश्वकप क्रिकेट २०२६ अन्तर्गत भारतविरुद्धको खेल नखेल्ने पाकिस्तानको निर्णय
थानकोट ।
पाकिस्तानले आईसीसी टी– २० पुरुष विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने भएको छ।
पाकिस्तान सरकारले आफ्नो आधिकारिक ‘एक्स’ अकाउन्टमार्फत पाकिस्तानी क्रिकेट टोलीलाई प्रतियोगिताको लागि श्रीलंका यात्रा गर्न अनुमति दिए पनि भारतविरुद्धको खेल नखेल्न भनेको हो । तर, यसको कारण भने खुलाइएको छैन् ।
एक्समा भनिएको छ,‘पाकिस्तान सरकार आईसीसी टी–२० विश्वकप २०२६ मा सहभागिताका लागि पाकिस्तान क्रिकेट टोलीलाई अनुमति दिन्छ, तर १५ फेब्रुअरी २०२६ मा भारतविरुद्ध हुने खेलमा भने टोली मैदान उत्रिने छैन्।’
सुरक्षा चिन्ताका कारण भारतमा खेल्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले २४ जनवरीमा बंगलादेशलाई प्रतियोगिताबाट निष्कासित गरेको थियो । त्यसयता विश्वकपमा पाकिस्तानको सहभागिता शंकास्पद बनेको थियो।
बंगलादेश बाहिरिएपछि आईसीसीलाई भारतको पक्षमा दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको थियो ।
पाकिस्तानले भारतबाहेकका खेल खेल्ने भएको छ। समूह ‘ए’ मा रहेको पाकिस्तानले ७ फेब्रुअरीमा नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्नेछ ।
यसैगरी, टोलीले १० फेब्रुअरीमा अमेरिका र १८ फेब्रुअरीमा नामिबियासँग प्रतिस्पर्धा गर्नेछ । भारतसँगको खेल बहिष्कार गरेपछि पाकिस्तानले दुई अंक गुमाउने छ।















