सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः ब्राइट होराइजन चिल्ड्रेन होमको शानदार जित
थानकोट ।
नेपाल एपीएफ स्कुल कीर्तिपुर, काठमाडौंको आयोजनामा गत आइतबारबाट सुरु भएको तेस्रो ‘एनएपीएफएस’ अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता-२०८२ अन्तर्गतको आज मंगलबारको खेलमा ब्राइट होराइजन चिल्ड्रेन होम मातातीर्थ र नेपाल पुलिस स्कुल साँगा विजयी भएका छन् ।
दिनको पहिलो खेल चन्द्रागिरिका ब्राइट एन्जल र ब्राइट होराइजन चिल्ड्रेन होमबीच भएको थियो ।
सो खेलमा १०–० ले ब्राइट होराइजन विजयी भएको थियो । यस खेलको ‘प्लेयर अफ द म्याच’ को ट्रफी प्रवेशसिंह ठकुरीले पाएका थिए ।
यस्तै, नेपाल पुलिस स्कुल साँगा र पेगासस स्कुल गोकर्णेश्वरबीच भएको दोस्रो खेलमा नेपाल पुलिस स्कुल साँगा २–० गोल अन्तरले विजयी भएको छ । नेपाल पुलिस स्कुल साँगाको तर्फबाट मेस्सीबहादुर शाह र सुविजन बस्नेतले १/१ गोल गरेका थिए ।
आज भएको दोस्रो खेलमा नेपाल पुलिस स्कुल साँगाका मेस्सीबहादुर शाह उत्कृष्ट भएका थिए । उनलाई विद्यालयका समादेशक सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेले ‘प्लेयर अफ द म्याच’ को ट्रफी प्रदान गरेका थिए ।
यस्तै, भोलि पहिलो खेल राई स्कुल नक्सालविरुद्ध सनसाइन स्कुल चन्द्रागिरि र दोस्रो खेल नेपाल एपीएफ स्कुल, कोहलपुरविरुद्ध जेम्स स्कुल ललितपुरबीच हुने भएको छ ।
प्रतियोगितामा १५ टिम सहभागी छन् । जसमा काठमाडाैं उपत्यकाका ११, काभ्रे, बाँके र सप्तरीका १-१ विद्यालय गरी १५ टिमबिच लिगकम नकआउटका आधारमा खेल सञ्चालन भइरहेका छन् ।
प्रतियोगितामा नेपाल एपिएफ स्कुल कीर्तिपुरका रातो र निलो दुई टिम, नेपाल एपिएफ, कोहलपुर, नेपाल एपिएफ ठाकोदेवी जोगेन्द्र भगत, सप्तरी, सैनिक आवासीय महाविद्यालय, भक्तपुर, नेपाल पुलिस स्कुल, साँगा, राई स्कुल, जेम्स, डिएभी, ब्राइट होराइजन चिल्ड्रेन्स होम, पिस प्वाइन्ट, ब्राइट एन्जल, पेगासस स्कुल, सन साइन स्कुल र बाघ भैरव स्कुलको सहभागिता रहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले ६० हजारसहित ट्रफी पाउने छ।
दोस्रो हुने टिमले ट्रफीको साथमा २० हजार र तेस्रो हुने स्कुलले १० हजार पुरस्कार पाउने छन्।
प्रतियोगितामा फेयर प्लेयर, बेस्ट गोल किपर, बेस्ट प्लेयर र हाइ स्कोररले पुरस्कार पाउने छन्। फागुन ८ गते प्रतियोगिता समापनको तालिका रहेको विद्यालयले जनाएको छ ।
कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलले वर्षेनी यस प्रतियोगिता आयोजना गर्ने गरेको छ । गतवर्ष सम्पन्न प्रतियोगिताको दोश्रो संस्करणको उपाधि घरेलु टोली नेपाल एपीएफ स्कुलको ए टीमले जितेको थियो ।
फाइल फोटो
















