चन्द्रागिरि हिल्सको खुद नाफा ५.७८ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६७ पैसा
थानकोट ।
चन्द्रागिरि हिल्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।
चालू आर्थिक वर्षको पुससम्म कम्पनीले ६ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको सञ्चालन आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण खुद नाफा सामान्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७.६५ प्रतिशत घटेर ४२ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ८.३१ प्रतिशत घटेको छ भने कुल खर्च ०.८२ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ३१.७७ प्रतिशत घटेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा ४७ पैसा बढेर ८ रुपैयाँ ६७ पैसा, प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ७३ पैसा रहेको छ। १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ४१ लाख ९५ हजार रुपैयाँ ऋणात्मक छ।
















