बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी: थानकोटकी एकजना महिलासहित फरार दुई व्यक्ति पक्राउ
थानकोट ।
बैंकिङ कसुर तथा वैदेशिक रोजगार ठगीमा संलग्न फरार दुई जनालाई नेपाल प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चन्द्रागिरि नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाबाट उनीहरूलाई पक्राउ गरेको हो। कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेकी प्रतिवादी पुन्यवती जोशीलाई हसनटारबाट पक्राउ गरिएको हो।
नुवाकोटको घर भई हाल थानकोट बसोबास गर्दै आएकी ३८ वर्षीया जोशीमाथि उच्च अदालत पाटन, ललितपुरले २०८० वैशाख १० गते बैंकिङ कसुर मुद्दामा फैसला गरेको थियो।
अदालतको फैसलाअनुसार उनलाई पाँच लाख रुपैयाँ जरिवाना, २० हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने तथा दुई दिन कैद सजाय तोकिएको थियो। फैसला कार्यान्वयनबाट फरार रहेकी जोशीलाई टेकुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि आजै सम्बन्धित अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, वैदेशिक रोजगार ठगीमा संलग्न एक व्यक्तिलाई पनि प्रहरीले आजै पक्राउ गरेको छ। काभ्रेको महाभारत गाउँपालिका–६ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ५२ वर्षीय पूर्णबहादुर वाइबालाई आकर्षक तलबको प्रलोभन देखाई जर्जिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार वाइबाले एक जना पीडितबाट ६ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा अनुसन्धान सुरु गरिएको थियो। सोही क्रममा उनलाई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ बाट पक्राउ गरिएको सूचना अधिकारी कार्कीले जानकारी दिए।
पक्राउ परेका वाइबालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचल काठमाडौँ पठाइएको छ। प्रहरीले बैंकिङ कसुर तथा वैदेशिक रोजगार ठगीका घटनामा संलग्न व्यक्तिहरूविरुद्ध कडा निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।
















