यी ८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
काठमाडौँ महानगरपालिकाले विभिन्न ८ वटा सहकारी संस्थाहरूलाई बहालमा लिएको घर तथा कोठा खाली गर्न अल्टिमेटम दिएको छ ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै ८ सहकारी संस्थालाई घर खाली गर्न यसअघि आग्रह गरिए पनि अटेरी गरेको भन्दै ७ दिनको अल्टिमेटम दिएको हो ।
महानगरले काठमाडौँ–३१ मा रहेको आशा बचत तथा ऋण सहकारी संस्था, वडा नम्बर ६ मा रहेको नब सवल सहकारी, सन्दुल सहकारी, काठमाडौँ–१७ मा रहेको युनिफाइड सहकारी र काठमाडौँ–२२ मा रहेको महाबौद्ध बचत तथा ऋण सहकारीलाई सूचना जारी गरेर सम्पर्कमा आउन भनेको हो । यस्तै, काठमाडौँ–३२ को ग्रेटर गंगासागर सेभिङ, काठमाडौँ–६ को सुन्ताखाल बचत, काठमाडौँ–३२ को प्रारम्भिक बचत र काठमाडौँ–१० को ग्रेटर गंगासागर बचत सहकारीलाई पनि सूचना जारी भएको छ ।
सूचनामा सहकारी संस्थाका पदाधिकारी (सञ्चालक समिति–लेखा सुपरिवेक्षण समिति), कर्मचारी तथा संस्थाका सदस्यहरूलाई सूचना प्रकाशन भएको मितिले ७ दिन भित्रमा काठमाडौँ महानगरपालिका, कानून तथा मानव अधिकार विभागमा सम्पर्क गर्न भनिएको छ । महानगरले तोकिएको समयभित्र सहकारी संस्थाका व्यक्तिहरू सम्पर्कमा नआएमा बहालमा लिएका घर कोठा न्यायिक समितिको निर्णयानुसार खाली गरिने जनाएको छ ।
तोकिएको समयमा घर खाली नगरे महानगरपालिकाले कानुन अनुसार आवश्यक कारबाही गर्ने चेतावनी दिएको छ।
हेर्नुहोस् सूचना :

















