सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः मातातिर्थस्थित ब्राइट होराइजनको सहज जित
थानकोट ।
नेपाल एपीएफ स्कुल कीर्तिपुर, काठमाडौंको आयोजनामा गत आइतबारबाट सुरु भएको तेस्रो ‘एनएपीएफएस’ अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता-२०८२ अन्तर्गतको बिहीबार (माघ २२ गते) सम्पन्न खेलमा मातातिर्थ स्थित ब्राइट होराइजन चिल्ड्रेन होम विजयी भएको छ ।
खेलमा ब्राइटले नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल, सप्तरी विरुद्ध ६-० को एकपक्षीय जित हात पार्यो ।
ब्राइटका लागि जित दिलाउन प्रवेश शाही र सन्देश महतराले समान २-२ गोल गर्दा विनोद गुरुङ्ग र दावा शेर्पाले १-१ गोल गरेका थिए। खेलमा ब्राइट होराइजनका विनोद गुरुङ्ग म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार (माघ २३) तीन वटा खेल हुने तालिका रहेको छ ।
शुक्रबार नेपाल एपीएफ स्कुल, कोहलपुर विरुद्ध डि.ए.भि. सुशिल केडिया स्कुल, जावलाखेलबीच खेल हुनेछ।
यस्तै, नेपाल एपीएफ स्कुल कीर्तिपुर, (निलो) विरद्ध सन साईन स्कुल, चन्द्रगिरि अनि जेम्स स्कुल, धापाखेल विरुद्ध बाघभैरव स्कुल, कीर्तिपुरपनि आज नै खेल हुनेछ ।
प्रतियोगितामा १५ टिम सहभागी छन् । जसमा काठमाडाैं उपत्यकाका ११, काभ्रे, बाँके र सप्तरीका १-१ विद्यालय गरी १५ टिमबिच लिगकम नकआउटका आधारमा खेल सञ्चालन भइरहेका छन् ।
प्रतियोगितामा नेपाल एपिएफ स्कुल कीर्तिपुरका रातो र निलो दुई टिम, नेपाल एपिएफ, कोहलपुर, नेपाल एपिएफ ठाकोदेवी जोगेन्द्र भगत, सप्तरी, सैनिक आवासीय महाविद्यालय, भक्तपुर, नेपाल पुलिस स्कुल, साँगा, राई स्कुल, जेम्स, डिएभी, ब्राइट होराइजन चिल्ड्रेन्स होम, पिस प्वाइन्ट, ब्राइट एन्जल, पेगासस स्कुल, सन साइन स्कुल र बाघ भैरव स्कुलको सहभागिता रहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले ६० हजारसहित ट्रफी पाउने छ।
दोस्रो हुने टिमले ट्रफीको साथमा २० हजार र तेस्रो हुने स्कुलले १० हजार पुरस्कार पाउने छन्।
प्रतियोगितामा फेयर प्लेयर, बेस्ट गोल किपर, बेस्ट प्लेयर र हाइ स्कोररले पुरस्कार पाउने छन्। फागुन ८ गते प्रतियोगिता समापनको तालिका रहेको विद्यालयले जनाएको छ ।
कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलले वर्षेनी यस प्रतियोगिता आयोजना गर्ने गरेको छ । गतवर्ष सम्पन्न प्रतियोगिताको दोश्रो संस्करणको उपाधि घरेलु टोली नेपाल एपीएफ स्कुलको ए टीमले जितेको थियो ।
















