टी-२० विश्वकपको १०औँ संस्करण आजदेखि, नेपालको पहिलो खेल भोलि

Thankot Times

थानकोट ।

आईसीसी टी-२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकाका विभिन्न सहरमा सुरु हुँदै छ ।

विश्वकपमा भारत र पाकिस्तान समूह ‘ए’मा छन् । जहाँ यी दुई टिमसँगै अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् ।

प्रतियोगिताको पहिलो दिन आज कुल तीन खेल हुँदै छन् । जसमा समूह ‘ए’बाट चार टिम प्रतिस्पर्धामा उत्रिँदैछन् । विश्वकपको पहिलो खेलमा आज पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ ।

श्रीलंकाको कोलम्बोस्थित सिँहालेस रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ११ः१५ बजेदेखि सुरु हुँदै छ । दोस्रो खेल दिउँसो ३ः१५ सुरु हुँदा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले अर्को एसोसिएट राष्ट्र स्कटल्यान्डको सामना गर्नेछ । स्कटल्यान्ड त्यही टिम हो, जो बंगलादेशले प्रतियोगिता बहिष्कार गरेपछि अवसर पाएको थियो ।

यी दुई टिमबीचको खेल भारतको कोलकातास्थित इडेन गार्डेनमा हुने तालिका छ । यस्तै, दिनको तेस्रो खेलमा भारतले अमेरिकाविरुद्ध खेल्नेछ ।

नेपालले पहिलो खेल भोलि इंग्ल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

भारतका पाँच सहरका पाँच रंगशाला र श्रीलंकाका दुई सहरका तीन रंगशालामा हुने प्रतियोगिता आजदेखि मार्च ८ सम्म आयोजना हुँदै छ । प्रतियोगितामा कुल २० टिमले प्रतिस्पर्धा गर्दै छन् । जसलाई प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ ।

३० दिने यो प्रतियोगितामा कुल ५५ खेल हुँदै छन् । प्रतियोगिताको फाइनल खेल भारतको नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने तालिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *