आईसीसी टी- २० विश्वकपः पाकिस्तान, वेष्ट इण्डिज र भारतको विजयी सुरुवात

Thankot Times

थानकोट ।

पाकिस्ताले आईसीसी पुरुष टी– २० विश्वकपमा सुखद सुरुवात गरेको छ । पाकिस्तानले शनिबार श्रीलंकाको कोलम्बोस्थित सिंहली स्पोर्ट्स क्लब मैदानमा सम्पन्न उद्घाटन खेलमा नेदरल्यान्ड्सविरुद्ध ३ विकेटको जित निकाल्यो । 

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पाकिस्तानले ३ बल बाँकी रहँदा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । 

पाकिस्तानका लागि साहिबजादा फरहानले ४७, फहिलम असरफले अविजित २९, सइम अयुबले २४, बाबर आजमले १५ र कप्तान सलमान अघाले १४ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल तयार पारेको थियो ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एड्वाडर्सले ३७, बास डी लिडेले ३०, माइकल लेभिटले २४, केलिन एन्करम्यानले २० र आर्यन दत्तले १३ रन बनाए ।

वेस्ट इन्डिज पनिले आईसीसी पुरुष टी– २० विश्वकपमा विजयी सुरुवात गरेको छ । 

शनिबार वेस्ट इन्डिजले भारतको कोलकातास्थित इडेन गार्डेन्समा सम्पन्न समूह ‘सी’ अन्तर्गतको खेलमा स्कटल्यान्डविरुद्ध ३५ रनको जित निकाल्यो । 

वेस्ट इन्डिजले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १८. ५ ओभरमा १४७ रनमा समेटियो । स्कटल्यान्डका लागि कप्तान रिची बेलिङटनले ४२, टोम ब्रुसले ३५, जर्ज मुन्सेले १९, मार्क वाटले १४, ब्रेन्डन म्यानकमुलनले १४ र म्याथ्यु क्रसले ११ रन बनाए । 

वेस्ट इन्डिजका लागि शेफार्डले ३ ओभरमा २० रन खर्चिएर ह्याट्रिकसहित ५ विकेट लिए । यसैगरी जेसन होल्डरले २ तथा शमर जोशेफ र गुडाकेश मोतीले १–१ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको थियो । 

वेस्ट इन्डिजका लागि हेटमायरले  ३६ बलमा ६ छक्का र २ चौकाको मद्दतले सर्वाधिक ६४ रनको योगदान गरे । यसैगरी, ब्रेन्डन किंगले ३५, शेर्फेन रदरफोर्डले २७, रोभमन पावेलले २४ र कप्तान साई होपले १९ रन बनाए । 

साविक विजेता भारतले पनि आईसीसी टी– २० विश्वकपमा विजयी सुरुवात गरेको छ । भारतले शनिबार मुम्बईस्थित वानखेडे क्रिकेट मैदानमा अमेरिकाविरुद्ध २९ रनको जित निकाल्यो । 

भारतले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै १३२ रन बनाउन सक्यो । अमेरिकाका लागि सञ्जय कृष्णमुर्ती र शुभम रन्जानेले ३७–३७ र मिलिन्द कुमारले ३४ रन बनाए । 

 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रनको योगफल तयार पारेको थियो । भारतका लागि कप्तान सूर्यकुमार यादवले ४९ बलमा १० चौका र ४ छक्काको मद्दतले सर्वाधिक ८४ रनको योगदान गरे ।

तस्बिरः गेट्टी इमेजेज


Leave a Reply

Your email address will not be published. Required fields are marked *