आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै, चन्द्रागिरिमा १४३४ जना लाभग्राही

Thankot Times

थानकोट ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी खोप अभियान आजदेखि  देशभर सञ्चालन हुँदैछ ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आजदेखि आउँदो फागुन १५ गतेसम्म ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाइनेछ ।

अभियानमा कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई खोप दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए।

यस्तै, गएको वर्षको एचपीभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप दिइने व्यवस्था गरिएको छ ।

डा. गौतमका अनुसार अहिलेको खोप अभियानमा झन्डै साढे ३ लाख बालिकालाई खोप लगाउने लक्ष्य छ ।

खोप बिभिन्न पालिकामा फरकफरक दिनमा हुने भएकाले नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझेर खोप लगाउन केन्द्रको आग्रह छ ।

एचपीभी खोप सुरक्षित, प्रभावकारी र निःशुल्क भएकाले ढुक्कसँग लगाउन केन्द्रले आग्रह गरेको छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप प्रारम्भिक किशोरावस्थामा दिँदा बढी प्रभावकारी हुने अध्ययनहरुले देखाएको छ ।

गएको वर्ष झन्डै १६ लाख किशोरीलाई एचपीभी खोप दिइएको थियो ।

अभियानमा ९४ प्रतिशतले खोप लगाएका थिए । पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमण हो । यो भाइरसको २ सय भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् ।

नेपालमा हरेक वर्ष दुई हजार भन्दा बढी महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको अनुमान छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ ।

चन्द्रागिरि नगर क्षेत्रमा १४३४ जना किशोरीहरू यस अभियानबाट लाभान्वित हुने नगरको स्वास्थ्य सेवा शाखाले जनाएको छ ।

नगर क्षेत्रमा माघ २७ गतेदेखी २९ गतेसम्म सम्बन्धित विद्यालयमा खोप लगाइने छ । यस्तै सो मितिभित्र खोप लगाउन छुट भएकाहरूका लागि फागुन १ गते खोप लगाइनेछ । फागुन ४र ५ गते भने थानकोट अस्पतालमा यो खोप सञ्चालन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *