आईसीसी टी-२० विश्वकप २०२६ः डेब्यु  खेल इटाली पराजित, स्कटल्यान्ड ७३ रनले विजयी

Thankot Times

थानकोट ।

इटालीले आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा डेब्यु  खेलमा स्कटल्यान्डसँग ७३ रनको हार व्यहोरेको छ ।

सोमबार भारतको कोलकातास्थित इडेन गार्डेन क्रिकेट रंगशालामा स्कटल्यान्डले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याएको इटालीले १६.४ ओभरमा सबै विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

स्कटल्यान्डले इटालीका सबै ब्याटरहरूलाई क्याचआउट गरेको थियो ।

इटालीलाई सस्तैमा रोक्न माइकल लिस्कले चार विकेट लिए । चार ओभर बलिङ गरेका लिस्कले १४ रन खर्चिए ।

मार्क वाटले दुई विकेट लिए । ब्राड करी, ब्राड व्हिल र ओलिभर डेविडसनले समान एक विकेट लिए ।

इटालीका निम्ति बेन मेनेन्तीले सर्वाधिक ५२ रन जोडे । मनेन्तीले ३१ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । ह्यारी मनेन्तीले ३७, जे जे स्मत्सले २२ र एन्टोनी मोस्काले १३ रन जोडे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको स्कटल्यान्डले पहिलो इनिङमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०७ रनको योगफल खडा गरेको थियो ।

स्कटल्यान्डका ओपनर जर्ज मुन्सीले सर्वाधिक ८४ रन बनाए । ५४ बल खेलेका मुन्सीले १३ चौका र दुई छक्का प्रहार गरे ।

अविजीत रहेका ब्रान्डन म्याकमुलेनले ४१ रन जोडे । १८ बल खेलेका उनले चार छक्का प्रहार गरे ।

ओपनर माइकल जोन्सले ३७ रन बनाए । कप्तान रिची बेरिङटनले १५ र अविजीत रहेका माइकल लिस्कले २२ रन बनाए ।

इटालीका अलि हसन, थोमस ड्राका, ग्रान्ट स्टेवर्ट र जेजे स्मत्सले समान एक विकेट लिए ।

यो जितसँगै समूह ‘सी’ मा रहेको स्कटल्यान्डले प्रतियोगितामा दुई अंक जोडेको छ ।

तस्बिरः गेटी इमेजेज्


Leave a Reply

Your email address will not be published. Required fields are marked *