मतदाता सचेतना कार्यक्रम सञ्चालनका लागि अनलाइन सञ्चारमाध्यम समेत प्रयोग गरिने

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले आगामी फागुन ३ देखि १७ गतेसम्म देशभरका स्थानीय तहका सबै वडामा मतदाता सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

विशेष मतदाता शिक्षा अभियानअन्तर्गत प्रत्येक वडामा स्वयंसेवक खटाइने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

स्वीकृत कार्यक्रमअनुसार मतदातालाई मतदान प्रक्रिया, मतपत्र प्रयोग गर्ने तरिका, गोप्य मतदानको औचित्य, निर्वाचन आचारसंहिता तथा भ्रामक वा गलत सूचनाबाट जोगिने उपायका बारेमा जानकारी दिइनेछ । यसका लागि वडा स्तरमै अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रत्येक वडामा एक-एक जना स्वयंसेवक नियुक्त गरिनेछ । निर्वाचन कार्यालयले कम्तीमा एसइई वा सो सरह शैक्षिक योग्यता पूरा गरेका बालविकास सहजकर्ता, मातृ स्वास्थ्य कार्यकर्ता, स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन परिचालकमध्येबाट स्वयंसेवक छनोट गर्ने व्यवस्था गरिएको छ ।

स्वयंसेवकलाई कार्यक्रम सम्पन्न भएपछि प्रतिवेदनका आधारमा एकमुष्ट १० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराइनेछ । यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न अनुगमनकर्तासमेत तोक्ने व्यवस्था गरिएको छ । स्थानीय तहमा निर्वाचन तथा मतदाता शिक्षाका लागि आयोगले तोकेका सम्पर्क व्यक्तिलाई अनुगमनकर्ताको जिम्मेवारी दिइनेछ, जसको पारिश्रमिक पाँच हजार रुपैयाँ रहनेछ ।

यसका अतिरिक्त, आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सञ्चालन गरिने मतदाता शिक्षा गतिविधि भने निर्वाचन आयोगले केन्द्रीय रूपमा नै व्यवस्थापन गर्ने जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *