टी-२० विश्वकप अन्तर्गत भारतसँगको खेल बहिष्कार गर्ने पाकिस्तानकाे निर्णय फिर्ता
थानकोट ।
पाकिस्तानले आईसीसी पुरुष टी– २० विश्वकप २०२६ अन्तर्गत भारतसँगको खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ ।
यससँगै पाकिस्तान १५ फेब्रुअरीमा कोलम्बोमा हुने समूह चरणको खेलमा भारतविरुद्ध मैदान उत्रिने भएको छ ।
पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समार्फत ‘मित्र राष्ट्रहरूको अनुरोध र पछिल्लो सहमतिलाई ध्यानमा राख्दै’ टोलीलाई भारतसँगको खेल खेल्न अनुमति दिएको जनाएको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले प्रधानमन्त्री शहबाज शरीफलाई आईसीसी, बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र पीसीबीबीच भएको उच्चस्तरीय छलफलका निष्कर्षबारे जानकारी गराएका थिए ।
बीसीबीका साथै श्रीलंका, संयुक्त अरब इमिरेट्सलगायत सदस्य राष्ट्रहरूले गरेको अनुरोध समेत सरकारले समीक्षा गरेको जनाएको छ ।
यसअघि पाकिस्तान सरकारले आफ्नो आधिकारिक ‘एक्स’ अकाउन्टमार्फत पाकिस्तानी क्रिकेट टोलीलाई प्रतियोगिताको लागि श्रीलंका यात्रा गर्न अनुमति दिए पनि भारतविरुद्धको खेल नखेल्न भनेको थियो ।
सुरक्षा चिन्ताका कारण भारतमा खेल्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २४ जनवरीमा बंगलादेशलाई प्रतियोगिताबाट हटाएको थियो गरेको थियो । त्यसयता विश्वकपमा पाकिस्तानको सहभागिता शंकास्पद बनेको थियो ।
बंगलादेश बाहिरिएपछि आईसीसीलाई भारतको पक्षमा दोहोरो मापदण्ड अपनाएको आरोप लगाइएको थियो ।
















