टी-२० विश्वकप क्रिकेटः नेदरल्यान्ड्स, न्युजील्याण्ड र पाकिस्तानको सहज जित

Thankot Times

थानकोट ।

पाकिस्तानले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा मंगलबार लगातार दोस्रो जित निकालेर सुपर एट प्रवेशका लागि आफूलाई बलियो प्रत्यासी बनाएको छ ।

समूह ए को कोलम्बोमा भएको खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गरेको हो । यो जितसँगै पाकिस्तानले सन् २०२४ को पछिल्लो विश्वकपमा अमेरिकाविरुद्ध सुपर ओभरमा बेहोरेको हारको बदला पनि लिएको छ ।

जितका लागि १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटमा १ सय ५८ रन मात्र बनाउन सक्यो । अमेरिकाको यो लगातार दोस्रो हार हो ।

यस्तै, न्युजिल्यान्डले लगातार दोस्रो जीत हासिल गरेको छ । भारतको चेन्नईमा मंगलबार भएको खेलमा न्युजिल्यान्डले यूएईलाई १० विकेटले हरायो ।

यूएईले दिएको १ सय ७४ रनको लक्ष्य न्युजिल्यान्डले १५ ओभर २ बलमा एक विकेट पनि नगुमाई भेटायो ।

न्युजिल्यान्डका टिम साइफर्टले ८९ र फिन एलेनले ८४ रन बनाए । याे खेलमा साइफर्ट एलेनले १ सय ७५ रनकाे कीर्तिमानी साझेदारी गरे । टी–२० विश्वकपमा यो कुनै पनि विकेटका लागि सबैभन्दा ठूलो साझेदारी हो ।

यसैगरी नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हराएको छ ।

भारतको नयाँदिल्लीमा रहेको अरुण जेटली स्टेडियममा नामिबियाले दिएको १ सय ५७ रनको लक्ष्य नेदरल्यान्ड्ले १८ ओभरमा ३ विकेट गुमाएर भेटायो ।

नेदरल्यान्ड्सका बास दी लीडले नटआउट ७२ रन बनाए । नामिबियाका बर्नार्ड स्कोल्ट्ज, रुबेन ट्रम्पेलमान र जान निकोल लफ्टी–एटनले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

प्रतियोगिताअन्तर्गत बुधबार अफगानिस्तान र दक्षिण अफ्रिका, अष्ट्रेलिया र आयरल्याण्ड तथा इंग्ल्याण्ड र वेस्ट इण्डिज बीच खेल हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *