महिला एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तान ए टोलीसँग पराजित

Thankot Times

थानकोट ।

थाइलाइन्डमा शुक्रबारदेखि सुरु भएको राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा भएको समूह ‘ए’ को आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ३० रनले पराजित भयो । जितका लागि एक सय ३८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय सात रनमा समेटिएको थियो ।

नेपालका लागि ओपनर बिन्द्यु रवालले सर्वाधिक ३९ रन बनाउनुभयो । सिता रानामगरले अविजित १९, कविता कुँवरले १८ र कप्तान पूजा महतोले ११ रन बनाउनुभयो । बलिङमा पाकिस्तानकी अनोसा नासिरले तीन विकेट लिनुभयो । मोमिना रियासातले दुई तथा वाहेदा अख्तरले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३७ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान हफ्सा खालिदले सर्वाधिक अविजित ४० रन बनाउनुभयो ।

यस्तै वाहेदा अख्तरले २३, हुराइना सावद्ले १७ र शावाल जुल्फीक्वीरले १० रन बनाउनुभयो । बलिङमा नेपालकी कविता कुँवरले दुई तथा मनिषा उपाध्याय, रिया शर्मा, सिता रानामगर र रुविना क्षेत्रीले एक एक विकेट लिनुभयो ।

राइजिङ स्टार्स एसियन कपको समूह ‘ए’ मा नेपालसहित पाकिस्तान र भारतको ‘ए’ टिम तथा युएई रहेको छ । समूह ‘बी’ मा बङ्गलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र आयोजक थाइल्यान्ड रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *