एपीएफ झापा गोल्डकप फुटबलको फाइनलमा

Thankot Times

थानकोट ।

सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गोल्डकप आयोजक टिम झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै एपीएफले फाइनल यात्रा तय गरेको हो ।

एक गोलले पछि परेको अवस्था उल्टाउँदै एपीएफले कमब्याक जित हासिल गरेको हो । जितसँगै एपीएफले कम्तिमा ७ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ । पेनाल्टी सुटआउटमा एपीएफका लागि सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गरेका थिए । नवीन लामाको प्रहार झापाका गोलकिपर सन्दीप लिम्बूले रोकेका थिए ।

झापाका तर्फबाट भने रोमन भुजेल र रोहन कार्कीले गोल गरेका थिए । नारायण क्षेत्री र गौरव धिमालको बल एपीएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाएका थिए । खेलको ६१औँ मिनेटमा झापाले अग्रता लिएको थियो । नारायण क्षेत्रीको कर्नर प्रहारमा झापाका विदेशी खेलाडी रिचार्ड विल्सनले गोल गर्न सफल भएका थिए ।

झापाको अग्रता ६ मिनेट पनि टिक्न सकेन । एपीएफका स्ट्राइकर नवीन लामाले ६७औँ मिनेटमा खेललाई बराबरीको अवस्थामा पुर्‍याएका थिए । लामाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लाग्दै गोलमा परिणत भएको थियो ।

३९औँ मिनेटमा रोहन कार्कीको प्रहार बारमा लागेर फर्किंदा खेलमा अग्रता लिने अवसरबाट वञ्चित भएको थियो । खेलको ५७औँ मिनेटमा झापाका रिचार्ड विल्सनको लङ रेञ्जर सट बारको माथिबाट बाहिरिएको थियो ।

एपीएफले ३०औँ मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । दिपेश धिमालले पाएको सुन्दर अवसर खेर फालेका थिए । खेलको प्लेयर अफ द म्याच विजेता टिम एपीएफका गोलकिपर एञ्जल श्रेष्ठ भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।

शनिबार अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुबटल क्लबबीच हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *