स्वास्थ्य बीमा कार्यक्रमबाट २५ हजार रुपैयाँ बराबरको ओपीडी सेवा पाउने सुविधा लागू
थानकोट ।
स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमबाट २५ हजार रुपैयाँ बराबरको ओपीडी सेवा पाउने सुविधा आजदेखि लागू गरेको छ ।
बीमा गरेका हरेक परिवारले अधिकतम २५ हजार ओपीडी र बाँकी ७५ हजार अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । बीमितले पाउँदै आएको १ लाख रुपैयाँको उपचार सेवा सुविधा नघटाइएको पनि उहाँले बताउनुभयाे ।
निर्देशक डा. पौडेलले बीमा कार्यक्रमअन्तर्गत ३ हजार ५ सय रकम बीमितले बुझाएमा पाँच जना परिवारले कुल १ लाख रुपैयाँ बराबरको उपचार सेवा पाउने सीमा यथावत् राखिएको जानकारी दिनुभयो ।
बोर्डले अनावश्यक रूपमा हुने ओपीडी सेवाको प्रयोग र दोहोरोपन रोक्न तथा गम्भीर, जटिल र ज्यान जोखिममा पर्ने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्नका लागि सेवाको रकम छुट्याएकाले त्यसैअनुसार प्रयोग गर्न पनि आग्रह गरेको छ ।
















