आईसीसी टी-२० विश्वकप क्रिकेट: जिम्बावे, युएई र अमेरिका विजयी
थानकोट ।
आईसीसी टी–२० विश्वकप क्रिकेटमा जिम्बावेले लगातार दोस्रो जीत हासिल गरेको छ । श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमादासा स्टेडियममा आज भएको खेलमा जिम्बावेले अस्ट्रेलियालाई २३ रनले हरायो ।
जिम्बावेले दिएको १७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर ३ बलमा १ सय ४६ रन बनाउँदा सबै विकेट गुमायो ।
विश्वकप अन्तर्गत शुक्रबार राति चेन्नाईमा सम्पन्न समूह ‘ए’ को खेलमा अमेरिकाले नेदरल्यान्ड्सलाई ९३ रनले हराएको हो । जितपछि अमेरिकाको दुई अंक भएको छ । नेदरल्यान्ड्सको भने यो दोस्रो हार हो । दुवै टोलीले समान ३ खेल खेलका छन् । जितका लागि १ सय ९७ रनको लक्ष्य पाएको नेदरल्यान्ड्स १५.५ ओभरमा एक सय ३ रनमा अलआउट भयो ।
टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो ।
त्यसअघि हिजो दिउँसो भएको खेलमा यूएईले क्यानडालाई ५ विकेटले पराजित गर्यो । क्यानडाले दिएको एक सय ५१ रनको लक्ष्य यूएईले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो ।
प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा बिहान सवा ११ बजे आयरल्याण्ड र ओमानबीच खेल हुँदैछ । त्यस्तै, दिउँसो सवा ३ बजे इंग्ल्यान्ड र स्कटल्याण्ड तथा बेलुका सवा ७ बजे न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ ।
















