राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि, विजेताले ७५ हजार रुपैयाँ पाउने
थानकोट ।
नेपाल हक्की संघको आयोजनामा दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबार (फागुन ४)देखि हुने भएको छ ।
आयोजक हक्की संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगितामा पुरुषतर्फ कोसी, मधेस, वाग्मती, गण्डकी, सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब गरी ६ टिम सहभागी हुने संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । महिलामा कोसी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश गरी पाँच टिमको सहभागिता रहने छ । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
दुवै समूहमा शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः ७५ हजार रुपैयाँँ, ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीलाई पाँच हजार तथा प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई दुई हजार नगदबाट पुरस्कृत गरिने छ ।
यही फागुन ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । हक्की संघको आयोजनामा दशरथ रंगशालामा पहिलोपटक हक्कीको प्रतियोगिता हुन लागेको हो ।
















