ललितपुरमा बालुवा बोकेको ट्रक दुर्घटना, ट्रकमा सवार चार जनाको मृत्यु

Thankot Times

थानकोट ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१, चौघरे सडक खण्डअन्तर्गत बाहुनडाँडामा शुक्रबार राति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

लेलेबाट बालुवा र त्रिशूल बोकेर कालेश्वर मन्दिरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक (महेन्द्रा निसान) राति करिब साढे ९ बजे अनियन्त्रित भई सडकबाट झन्डै ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार शिवरात्रिका अवसरमा महांकाल गाउँपालिका-३ स्थित कालेश्वर मन्दिरमा त्रिशूल चढाउने उद्देश्यले ढुवानीको समयमा दुर्घटना भएको हो । दुर्घटनामा ट्रक चालक ललितपुर गोदावरी नगरपालिका–६, टीकाभैरवका ५३ वर्षीय गणेश खड्का र सोही स्थानका ४३ वर्षीय गणेश थापा को घटनास्थलमै मृत्यु भएको थियो ।

ट्रकमै सवार काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८, मण्डिखाटारका ५५ वर्षीय गोपी कार्की र काठमाडौं महानगरपालिका–२ घर भई हाल गोदावरी नगरपालिका बस्दै आएका ५० वर्षीय उत्तम रानामगरलाई उपचारका लागि पाटन अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुमानमा सडकमा गाडी ब्याक गर्ने क्रममा ट्रक अनियन्त्रित भएको हुनसक्ने देखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *