झापा गोल्डकप: त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनाउँदै मच्छिन्द्र फुटबल क्लब फाइनलमा
थानकोट ।
त्रिभुवन आर्मी फुटबल क्लब जारी झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाटै घर फर्किएको छ ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंशालामा जारी सातौँ झापा गोल्डकपअन्तर्गत आज (शनिबार) सम्पन्न अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबसँग ४–० को फराकिलो गोल अन्तरले पराजित हुँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलबाट बाहिरिएको हो ।
यो सँगै मच्छिन्द्र क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
यही फागुन ४ गते हुने फाइनल प्रतियोगितामा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा मच्छिन्द्रका तर्फबाट स्ट्राइकर जोनाथन जोरिल्लाले तीन गोल गर्दै ह्याट्रिक गरेका थिए । त्यस्तै अतिरिक्त समयमा रेजिन सुब्बाले एक गोल थपे ।
खेलको ‘प्लेयर अफ दी म्याच’ मच्छिन्द्रका जोनाथन जोरिल्ला घोषित भएका छन् ।
उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा विजेताले १५ लाख रुपैयाँ र उपविजेताले सात लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्नेछन् भने उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
फाइनल खेल फागुन ४ गते हुनेछ ।

















