आईसीसी पुरुष टी-२० विश्वकपः नेपालले आज वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै

Thankot Times

थानकोट ।

आईसीसी पुरुष टी– २० विश्वकपको आफ्नो तेस्रो खेलमा आज (आइतबार) वेस्ट इन्डिजको सामना गर्दै छ । समूह ‘सी’अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार बिहान ११ः१५ मा सुरु हुनेछ ।

यसअघिका दुवै खेलमा पराजय ब्यहोरेको नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपालले इटालीविरुद्धकाे दोस्रो खेल १० विकेटले गुमाएकाे थियाे ।

नेपालले प्रस्तुत गरेको १२४ रनको लक्ष्य इटालीले १२.४ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गरेको थियो ।

इटालीविरुद्धको खेलबाट प्रशिक्षक स्टुआर्ट लले टोलीमा आज केही परिवर्तन गर्ने सम्भावना छ । वेस्ट इन्डिजविरुद्ध तीव्र गतिका बलर करण केसी वा नन्दन यादवको स्थानमा अघिल्ला दुवै खेल नखेलेका सोमपाल कामीले मौका पाउन सक्छन् ।

दुवै खेलमा विकेटविहीन रहेका करणले डङ्ल्यान्डविरुद्ध ३ ओभरमा ३५ तथा इटालीविरुद्ध २ ओभरमा २१ रन दिएका थिए । यसैगरी, इङ्ल्यान्डविरुद्ध ३ ओभरमा २५ रन खर्चिएर २ विकेट लिएका नन्दनले १ ओभरमा १२ रन खर्चिए ।

स्पिनर ललितनारायण राजवंशीको स्थानमा शेर मल्ल टोलीमा फर्किन सक्छन् । इङ्ल्यान्डविरुद्ध खेलेका शेरलाई इटालीविरुद्ध भने विश्राम दिइएको थियो । शेरले इङ्ल्यान्डविरुद्ध ३ ओभरमा ३५ रन खर्चिएर १ विकेट लिएका थिए । इटालीविरुद्ध पहिलो खेल खेलेका ललितले १ ओभरमा १९ रन दिएका थिए ।

प्रशिक्षक लसँग अलराउन्डर गुल्सनकुमार झाको स्थानमा बसिर अहमदलाई मैदान उतार्ने विकल्प पनि रहनेछ । बसिरले हालसम्म मौका पाएका छैनन् । गुल्सनले इङ्ल्यान्डविरुद्ध २ बलमा १ तथा इटालीविरुद्ध ४ बलमा ३ रन बनाएका छन् । उनले दुवै खेलमा बलिङको मौका भने पाएनन् ।

यता, उच्च लयमा रहेको वेस्ट इन्डिज नेपाललाई पराजित गर्दै एक खेल अगावै सुपर ८ मा पुग्ने लक्ष्यमा छ । वेस्ट इन्डिजले यसअघि स्कटल्यान्डलाई ३५ र इङ्ल्यान्डलाई ३० रनले पराजित गरेको थियो ।

शेर्फेन रदरफोर्ड नेपालका लागि घातक बन्न सक्छन् । उनले २ खेलमा १ अर्धशतकसहित १०२ रन बनाएका छन् । उनले स्कटल्यान्डविरुद्ध २६ र इङ्ल्यान्डविरुद्ध अविजित ७६ रन बनाएका थिए ।

यसैगरी, रोमारियो शेफर्ड नेपाली ब्याटरका लागि समस्या बन्न सक्छन् । उनले २ खेलमा ६ विकेट हात पारेका छन् । शेफर्डले स्कटल्यान्डविरुद्ध  ह्याट्रिकसहित ५ र इङ्ल्यान्डविरुद्ध १ विकेट लिएका छन् ।

वेस्ट इन्डिजले दुईपटक आईसीसी टी– २० विश्वकपको उपाधि जितेको छ । हालसम्मका सबै संस्करणमा सहभागिता जनाएको वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा उपाधि जितेको थियो ।

नेपालले यसअघि वेस्ट इन्डिजसँग टी– २० अन्तर्राष्ट्रिय शृंखला खेलिसकेको छ । केही महिनाअगाडि भएको तीन खेलको उक्त शृंखला नेपालले २–१ ले आफ्नो पक्षमा पारेको थियो । सुरुवाती दुई खेलमा १८ र ९० रनको जित निकालेको नेपालले तेस्रो खेल भने १० विकेटले गुमाएको थियो ।

तर, त्यतिबेला र अहिलेको टोलीमा निकै फरक छ । नेपालविरुद्ध वेस्ट इन्डिजले आफ्नो दोस्रो रोजाइको खेलाडीलाई मौका दिएको थियो । अहिलेको टोलीमा त्यतिबेलाका दुई खेलाडी मात्र छन् । नेपालसँग खेलेका अकिल होसेन र जेसन होल्डर मात्र विश्वकप खेल्ने वेस्ट इन्डिजको टोलीमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *